०४, माघ २०८२ आइतबार
बाँके, नरैनापुर – बाँके जिल्लास्थित ऐतिहासिक तथा पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर परिसरमा वृहत सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रममा मन्दिर क्षेत्रभित्र जथाभावी छरिएका प्लास्टिकका खोल, बोतललगायतका फोहोरहरू संकलन गरी करिब २२ बोरा फोहोर व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।

इको नेपाल फाउन्डेसनको सहयोग तथा नेपालगञ्जका सचेत युवा र नागरिकहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा फोहोर संकलनसँगै त्यसको उचित व्यवस्थापनसमेत गरिएको थियो।

सरसफाइ अभियानमा शिरिष बुढाथोकी, पारश बिक्रम अर्याल, कमल, राहुल बुढाछेत्री, नवराज बर्मा, कवि भारती, सिद्धार्थ थापा मगर, राजन शाह, मुस्कान शाहु, मांसी गोडिय, मान्नत जी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको क्रममा मन्दिरका पुजारी पूजनीय बाबा जीलाई फस्ट–एड बक्ससहित आवश्यक औषधि तथा चिसो मौसमलाई मध्यनजर गर्दै हट वाटर ब्यागसमेत प्रदान गरिएको थियो।
आयोजक संस्थाले धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणका लागि यस्ता अभियान निरन्तर आवश्यक रहेको बताउँदै फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ।

