समाचार, भर्खरै, मनोरञ्जन, व्यापार, समाचार

चर्चित गायक माल्दाईको दमदार इन्ट्रीले तातियो नेपालगञ्ज महोत्सव, ‘बर्दियाको बाघ आयो’ भन्दै दर्शकलाई उफार्दै नचाए

०३, माघ २०८२ शनिबार 

बाँके, नेपालगञ्ज – नेपालगञ्जमा जारी आठौँ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित लोकदोहोरी गायक कमल बिसी ‘माल्दाई’को दमदार इन्ट्रीसँगै माहोल तातिएको छ।


माल्दाईले “बर्दियाको बाघ आयो, बाघ आयो” भन्दै स्टेज प्रवेश गरेपछि दर्शकको उत्साह चरम सीमामा पुगेको थियो। स्टेजमा उक्लिएलगत्तै “कता कता” भन्ने माल्दाईको प्रश्नमा दर्शकले “यता यता” भन्दै हुटिङ गरेका थिए। दर्शकको साथ र हुटिङले माहोल झनै रोमाञ्चक बनेको थियो।


गायक माल्दाई स्टेजबाट दर्शक सामु झरेर उफारी–उफारी नचाउँदै दर्शकलाई पनि नचाउन सफल भए। ‘डोरी बाटेर’ बोलको गीत प्रस्तुत गर्दा दर्शक उफ्रिँदै नाचेर साथ दिएका थिए। प्रस्तुति सकिएपछि माल्दाईसँग फोटो खिचाउन स्टेजमै दर्शकको भीड थामिनसक्नु देखिएको थियो।


माल्दाईले चकलेट गेममार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै एकपछि अर्को हिट गीत प्रस्तुत गरेका थिए। “बर्दियामा घर छ, मलाई के को डर छ” भन्ने गीतमा त झनै दर्शकको हुटिङ गुञ्जिएको थियो।


यसै अवसरमा चर्चित गायिका सृजना खत्रीले ‘हाउडे माया’, ‘पिपलु छाया’, ‘लाहुरे माया’ जस्ता गीत प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाइन्। मोडेल करिश्मा शाहीको आकर्षक नृत्य प्रस्तुति पनि महोत्सवको अर्को आकर्षण बन्यो। साथै, दैनिक लोकदोहोरी तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि जारी रहेको छ।

Advertisement


पुष ३० गतेदेखि सुरु भएको उक्त महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति जिल्ला शाखा बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा सञ्चालन भइरहेको छ।


आयोजक मूल समितिका संयोजक समरबहादुर खत्रीका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ। महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायिका शान्तिश्री परियार, गायक टंक तिमिल्सेना, प्रिति आले, बद्री पंगेनीलगायत दुई दर्जनभन्दा बढी कलाकारहरूको प्रस्तुति रहनेछ।


महोत्सवमा लन्डन ब्रिज, फिस टनेल, विभिन्न व्यापारिक स्टल तथा थारु गाउँ अवलोकनको व्यवस्था गरिएको छ। साथै विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता सञ्चालन हुने सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिइन्।

Advertisement

भोलि आइतबार महोत्सवमा चर्चित गायक खुमन अधिकारी, गायिका इस्बल सन्ज्याल तथा मोडेल निशा गिरीको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0