भर्खरै, राजनीति, समाचार, समाचार

राष्ट्रियसभा निर्वाचन प्रक्रिया सुरु, १८ सदस्यका लागि आज मनोनयन दर्ता

२३, पौष २०८२ बुधबार 

काठमाडौँ –  राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लागि हुने निर्वाचन प्रक्रिया आजबाट औपचारिक रूपमा सुरु भएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।

निर्वाचन कार्यतालिका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन पाउनेछन्। सोही दिन दिउँसो अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका १८ सदस्यको कार्यकाल समाप्त हुँदैछ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता संख्या र मतभार निर्धारण भइसकेको छ। यस निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहने व्यवस्था छ।
आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो।

Advertisement

त्यसपछि मंगलबार मतदाता नामावलीमा कुनै दाबी–विरोध परे नपरेको यकिन गर्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ।

राष्ट्रियसभा निर्वाचन प्रक्रियाले अब औपचारिक गति लिँदै राजनीतिक सरगर्मी बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement