भर्खरै, राजनीति, समाचार, समाचार

सिट बाँडफाँटमा सहमति नजुट्दा राष्ट्रिय सभा चुनावी तालमेलबाट नेकपा बाहिरियो

२३, पौष २०८२ बुधबार 

काठमाडौं – राष्ट्रिय सभा निर्वाचनका लागि बनेको चुनावी तालमेलबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ। सिट बाँडफाँटमा सहमति नजुटेपछि नेकपाले कांग्रेस–एमाले नेतृत्वको सम्भावित गठबन्धन त्यागेको हो।

नेकपाले आफ्नो मतभारअनुसार चार सिट पाउनुपर्ने अडान राख्दै आएको थियो। तर नेपाली कांग्रेस र नेकपा एमालेले तीन सिट मात्रै दिने अडान नछाडेपछि वार्ता निष्कर्षविहीन बनेको जनाइएको छ। कांग्रेस–एमालेसहितको बैठकमा नेकपाले मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्ताव राखे पनि सहमति जुट्न सकेन।

छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले मतभारको तर्क प्रस्तुत गर्दै सबै दलले समानुपातिक समायोजन गर्नुपर्ने प्रस्ताव गरिएको बताए। उनले कांग्रेस–एमाले र मधेसबाट महन्थ ठाकुरलाई एक सिट दिने गरी सहमति लगभग टुंगिएको जानकारी दिए।

नेकपा नेता अग्नि सापकोटाले पार्टीको मतभारअनुसार चार सिटमा दाबी कायमै रहेको बताए। सो कुराको पुष्टि नेकपा नेता हरिबोल गजुरेलले पनि गर्दै कांग्रेस–एमालेले मतभारभन्दा कम सिट दिने तयारी गरेको भन्दै त्यसमा सहमति नजनाइएको स्पष्ट पारे।

Advertisement

निर्वाचन आयोगले सार्वजनिक गरेको २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार कांग्रेसको मतभार २१ हजारभन्दा बढी, एमालेको १७ हजारभन्दा बढी र नेकपाको १२ हजारभन्दा बढी रहेको छ।

नेकपासँग सहमति नजुटेपछि कांग्रेस–एमालेले जनता समाजवादी पार्टी नेपाललाई तालमेलमा जोड्ने प्रयास गरेका छन्। जसपा नेपालका तर्फबाट महन्थ ठाकुरलाई एक सिट दिने गरी कांग्रेसले ९ र एमालेले ८ सिट लिने सहमति करिब टुंगो लागेको बताइएको छ। यदि जसपा नेपाल पनि तालमेलमा नआए कांग्रेसले १० र एमालेले ८ सिट लिने विकल्पमा छलफल भएको छ।

सिट बाँडफाँटमा सहमति नजुटेपछि नेकपा संयोजक प्रचण्डले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने घोषणा गरेका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0