२३, पौष २०८२ बुधबार
काठमाडौं – गृह मन्त्रालयले तराई–मधेशका केही जिल्लामा देखिएका धार्मिक तथा सामाजिक तनावका घटनालाई ध्यानमा राख्दै देशभर सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।

मङ्गलबार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा कानुनविपरीतका गतिविधिमा संलग्न जो–कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउन सबै प्रमुख जिल्ला अधिकारीलाई स्पष्ट निर्देशन दिइएको छ।
सर्कुलरको बुँदा नम्बर २ मा धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव प्रवद्र्धनका लागि सरोकारवालासहित समन्वय बैठक आयोजना गर्न भनिएको छ। यसका लागि जिल्लास्थित राजनीतिक दलका प्रमुख, सामाजिक, सांस्कृतिक तथा धार्मिक अगुवालाई सहभागी गराई सद्भाव कायम राख्न सार्वजनिक आह्वान गर्न निर्देशन दिइएको छ।
सबै पक्षको सहभागितामा सद्भाव र्याली आयोजना गर्ने, यस्ता घटनाहरू दोहोरिन नदिन सचेतना बढाउने र सीमा क्षेत्रमा आवागमन कडाइका साथ चेकजाँच गर्ने व्यवस्थासमेत गर्न भनिएको छ।
साथै, स्थानीय भाषामार्फत सञ्चार माध्यम प्रयोग गरी सामाजिक सद्भाव प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्न र प्रदेश तथा स्थानीय तहसँग समन्वयात्मक कार्यक्रम अघि बढाउन जोड दिइएको छ।
सर्कुलरको बुँदा नम्बर ७ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी क्रियाशील बनाइनेछ। समितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घ, पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रका अगुवाको सहभागिता रहनेछ।
यस्तै, विगतका वर्षका घटनाहरूको अभिलेखका आधारमा विवाद उत्पन्न हुन सक्ने सम्भावित कार्यक्रम तथा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर बनाउने कार्य गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ।
गृह मन्त्रालयको यस पहलले देशभर सामाजिक सद्भाव, शान्ति र आपसी सहिष्णुता मजबुत बनाउने अपेक्षा गरिएको छ।

