२२,पौष २०८२ मगंलवार
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ। क्यानले विश्वकपको ट्रफीसँगै विशेष कार्यक्रममार्फत नयाँ जर्सी सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको रहेको छ। जर्सीमा नेपालको राष्ट्रिय झन्डामा रहेका चन्द्र र सूर्यको प्रतीक समावेश गरिएको छ, जसले नेपाली पहिचान, राष्ट्रिय गौरव र आत्मसम्मानलाई झल्काएको क्यानले जनाएको छ।
नयाँ जर्सी आधुनिक डिजाइनसँगै अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको बताइएको छ। क्यानका अनुसार खेलाडीहरूको प्रदर्शनलाई ध्यानमा राख्दै जर्सी हलुका, सहज र मौसमअनुकूल बनाइएको छ।

नेपाली क्रिकेट समर्थकहरूका लागि यो जर्सी ७९९ रुपैयाँमा उपलब्ध हुनेछ। विश्वकपअघि सार्वजनिक गरिएको नयाँ जर्सीप्रति क्रिकेट प्रेमीहरूमा उत्साह बढेको देखिएको छ।

तस्विर : सक्षम घिमिरे / नेपाल न्यूज बैंक

