२१,पौष २०८२ सोमबार
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले पेस गरेको समानुपातिक तर्फको उम्मेदवार बन्दसूचीमा विभिन्न त्रुटि फेला परेपछि सच्याउन निर्देशन दिएको छ । आयोगले आइतबार इमेलमार्फत सम्बन्धित सबै राजनीतिक दललाई त्रुटि सच्याउन पत्राचार गरेको हो ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलहरूले बुझाएको बन्दसूचीमा नामहरूको समूह (क्लस्टर) प्रतिशत जाँच गर्दा एउटै व्यक्तिको नाम दुई स्थानमा समावेश भएको, एक समूहमा पर्नुपर्ने उम्मेदवार अर्को समूहमा राखिएको जस्ता त्रुटि देखिएका छन् । यस्ता कमजोरी नेपाली कांग्रेस र नेकपा एमालेको सूचीमा समेत फेला परेको आयोगले जनाएको छ ।
कतिपय दलका सूचीमा केही उम्मेदवारको हस्ताक्षर नपाइएको, ‘पिछडिएको क्षेत्र’ भनेर उल्लेख गरिएका उम्मेदवारको नागरिकता विवरण परीक्षण गर्नुपर्ने अवस्था देखिएको आयोगको भनाइ छ । यी लगायतका अस्पष्ट तथा नमिलेका विषय प्रष्ट गर्न आयोगले दलहरूलाई सच्याउन निर्देशन दिएको हो ।
पुस १३ र १४ गते दलहरूले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका थिए । त्यसपछि गरिएको अध्ययनका आधारमा आयोगले आजदेखि पुस २७ गतेसम्म त्रुटि सच्याउने समय दिएको छ ।
बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई पुस २८ गते समय दिइनेछ । उम्मेदवारले नाम फिर्ता लिएमा सोको जानकारी आयोगले पुस २९ गते सम्बन्धित दललाई दिनेछ । त्यसपछि रिक्त भएको स्थानमा सोही समूहको अर्को उम्मेदवार मनोनयन गरी पुस ३० गतेभित्र आयोगमा नामावली पेस गर्नुपर्नेछ ।
आयोगको कार्यतालिकाअनुसार आगामी माघ ४ गते समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरिनेछ । त्यसपछि माघ ५ गतेदेखि १० गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धमा दाबी–विरोध गर्न सकिनेछ ।
माघ ११ गतेदेखि १७ गतेसम्म दाबी–विरोधमाथि छानबिन गरी निर्णय गरिने आयोगले जनाएको छ । अन्तिम रूपमा माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची प्रकाशन गरिनेछ ।
आगामी निर्वाचनका लागि फागुन २१ गते मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

