१९, पौष २०८२ शनिबार
काठमाडौँ — समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले पेश गरेका बन्दसूचीलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ। नयाँ दल रास्वपाले पेश गरेको बन्दसूचीमा धनाढ्य र नेताका आफन्तहरू समेटिएको भन्दै आलोचना भइरहँदा, पूर्व माओवादी र हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पेश गरेको सूचीले भने योगदान, त्याग र समावेशिताको मापदण्ड पूरा गरेको भन्दै प्रशंसा बटुलिरहेको छ।

नेकपाले समानुपातिक बन्दसूचीमा मुस्लिम, अल्पसंख्यक, महिला, मधेसी, दलित र आदिवासी जनजाति क्लष्टरअन्तर्गत संविधानले व्यवस्था गरेअनुसारका योग्य, पिछडिएका र लामो संघर्ष गरेका व्यक्तिहरूलाई समेटेको प्रतिक्रिया आइरहेका छन्। विशेषतः जनयुद्धमा प्रत्यक्ष सहभागी भई त्याग र योगदान दिएका पात्रहरूलाई प्राथमिकतामा राखिएको भन्दै पार्टीको निर्णयलाई सकारात्मक रूपमा हेरिएको छ।

मुस्लिम क्लष्टरतर्फ पहिलो नम्बरमा सिफारिस गरिएकी कैसर जहाँ (रविना खान) को नाम विशेष चर्चामा छ। २०४९ साल वैशाखमा कपिलवस्तुको मायादेवी–३ मा जन्मिएकी उनी २०५८ साल मंसिरदेखि २०६३ सम्म जनयुद्धमा सक्रिय भइन्। मदरसा पढ्दै गर्दा जनयुद्धमा होमिएकी उनी जनमुक्ति सेनामा सहभागी भई दर्जनभन्दा बढी युद्ध र भिडन्तमा प्रत्यक्ष संलग्न युवा महिला हुन्। शान्ति प्रक्रियापछि चौथो डिभिजन हुँदै काठमाडौं र देशका विभिन्न स्थानमा पार्टी तथा सांस्कृतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी उनी हालसम्म कुनै राजनीतिक लाभको अवसर नपाएकी पात्र हुन्।

पार्टीले यसपटक प्रतिनिधिसभा सांसदका लागि पहिलो नम्बरमा सिफारिस गरेपछि आफू मात्र नभई सम्पूर्ण मुस्लिम समुदाय र पूर्व जनयोद्धाहरूमा खुशी छाएको रविनाले बताइन्। “धार्मिक रूपमा कट्टर मानिने समुदायबाट विद्रोह गर्दै जनयुद्धमा लाग्नु सजिलो थिएन,” उनले भनिन्, “तर तत्कालीन माओवादीको न्याय, समानता र परिवर्तनको अभियानले मलाई प्रेरित गर्यो। त्यसमा स्थानीय नेता किरणको भूमिकासमेत महत्वपूर्ण थियो।”

जनयुद्धकालमा ‘रविना’ नामले चिनिने उनी म्याग्दीको बेनीदेखि सुनवल, स्याङ्जा, पोखरा, गण्डक क्षेत्र, गोरखा, कास्की, तनहुँ, लमजुङ, धादिङ हुँदै काठमाडौंसम्मका युद्ध, आन्दोलन र कार्यक्रमहरूमा अनवरत सहभागी र नेतृत्वदायी भूमिकामा रहिन्। समानुपातिक सूचीमा नाम परेपछि कपिलवस्तुका मुस्लिम, थारू, दलित बस्ती तथा देशभरका पूर्व पीएलएका सहयोद्धाहरूले फोनमार्फत बधाई दिइरहेका छन्।

उनको वास्तविक नागरिकता नाम कैसर जहाँ (सकिना मुस्लिम) हो। प्रचण्डलाई आदर्श नेता र पिता समान सम्मान गर्ने रविनाले सांसद बनेपछि पार्टी र नेतृत्वले दिएको जिम्मेवारी दृढतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएकी छन्। “म पार्टीको सिपाही हुँ, आफ्नो वर्ग, समुदाय र सबै उत्पीडितहरूको पक्षमा पार्टीको नीति र निर्देशनअनुसार काम गर्छु,” उनले भनिन्।

पछिल्लो जनगणनाअनुसार नेपालमा करिब १४ लाख ८० हजार मुस्लिम जनसंख्या रहेकाले ११० सदस्यीय प्रतिनिधिसभामा पाँच जना मुस्लिम समुदायबाट सांसद हुने व्यवस्था छ। यही मापदण्डअनुसार नेकपाले पाँच जना मुस्लिम उम्मेदवार सिफारिस गरेको र त्यसमा रविनालाई पहिलो नम्बरमा राखिएको हो।
वर्ग, समुदाय, लिंग, त्याग, अवसर नपाएको अवस्था र जनयुद्धमा प्रत्यक्ष योगदानको आधारमा रविना खान योग्य पात्र भएको भन्दै तत्कालीन माओवादी निकट नेताहरूले उनको सिफारिस उचित भएको धारणा राखेका छन्। उनीहरूको भनाइमा, यस निर्णयले नेपाली कम्युनिस्ट पार्टी र संयोजक प्रचण्डप्रति आम जनमानसमा सकारात्मक सन्देश प्रवाह गरेको छ। नेताहरूको एउटै अपेक्षा छ— “पार्टीले रविना जस्ता युवाहरूलाई न्याय गरोस्।”

