१८, पौष २०८२ शुक्रबार
बाँके, नेपालगन्ज — अनलाइन टिभि पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेशको नियमित बैठक आज नेपालगन्जमा सम्पन्न भएको छ। बैठकले अनलाइन टिभिमा आवद्ध पत्रकारहरूको पेशागत हित, सुरक्षा तथा संस्थागत सुदृढीकरणका विषयमा गम्भीर छलफल गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकमा अनलाइन टिभि पत्रकारहरूको क्षमता अभिवृद्धि, हक–हित संरक्षण, पत्रकार सुरक्षा र पत्रकार आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, संघले अनलाइन टिभिमा कार्यरत सम्पूर्ण पत्रकारहरूलाई संस्थागत रूपमा गोलबद्ध हुन आह्वान गर्दै सम्बन्धित अनलाइन टिभि च्यानलहरूलाई आधिकारिक दर्ता गर्न र कार्यप्रणालीलाई अझ चुस्त, व्यावसायिक तथा पारदर्शी बनाउन अनुरोध गरेको छ।
बैठकले जिम्मेवार र तथ्यपरक पत्रकारितामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै सचेत र सुसूचित समाज निर्माणमा योगदान पुर्याउन सबै अनलाइन टिभि पत्रकारहरूलाई आह्वान गरेको छ।

