१७, पौष २०८२ बिहीबार
बाँके, नेपालगन्ज — नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको ५८औँ स्थापना दिवसको अवसरमा बिहीबार नेपालगन्जमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा संघको नेतृत्व गर्दै उल्लेखनीय योगदान पु¥याएका चार जना पूर्वअध्यक्षहरूलाई विशेष सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, कन्हैयालाल टण्डन र सतिशचन्द्र अग्रवाल रहेका छन्। उनीहरूलाई दोसल्ला ओढाइ तथा नेपाली टोपी लगाएर सम्मान गरिएको हो। स्थापना दिवसको अवसरमा संघको ५८ वर्षे यात्राको प्रतीकस्वरूप “५८औँ वर्ष” अंकित केक पनि काटिएको थियो।

प्रमुख अतिथि मन्त्री अग्रवालले नेपालगन्ज उद्योग वाणिज्य संघलाई आफ्नो घरसरहको संस्था भएको उल्लेख गर्दै संघप्रति गर्वको अनुभूति हुने बताउनुभयो। संघमा चार कार्यकाल काम गरेको अनुभव स्मरण गर्दै उहाँले उद्योगी–व्यवसायीको हक–हितका लागि सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री अग्रवालले सिमानाका क्षेत्रमा देखिएका व्यावहारिक समस्याप्रति सरकार गम्भीर रहेको बताउँदै समाधानका लागि निरन्तर पहल भइरहेको जानकारी दिनुभयो। सिमानामा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कानुन कार्यान्वयनमा एकरूपता नदेखिएको गुनासो पनि गर्नुभयो। पाँच हजार डलर बोकेर हिँड्न पाइने कानुनी व्यवस्था व्यवहारमा लागू नभएको र भारतीय नम्बर प्लेटका सवारी साधनप्रति फरक दृष्टिकोण देखिने गरेको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी सुधार गरिने बताउनुभयो।

कार्यक्रममा माननीय मिना कुमारी श्रेष्ठ, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरी, पूर्व महासचिव अजय टण्डन, तारा कुमारी खत्री, संघका प्रेस सल्लाहकार शंकर प्रसाद खनाललगायत उद्योगी–व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अन्य वक्ताहरूले नेपालगन्ज उद्योग वाणिज्य संघले विगत ५८ वर्षदेखि उद्योग, व्यापार र व्यवसायको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सञ्चालन संघका महासचिव भीम रानाभाटले गर्नुभएको थियो। स्थापना दिवस कार्यक्रमले उद्योगी–व्यवसायीबीच आपसी एकता, सहकार्य र समन्वयलाई थप मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

