जीवनशैली, भर्खरै, मनोरञ्जन, समाचार, समाचार

देशभर तमु ल्होसारको उल्लास, गुरुङ समुदायले नयाँ वर्ष मनाउँदै

१५,पौष २०८२ मगंलवार 

काठमाडौं — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने काठमाडौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि र उत्सवको माहोल देखिएको छ।

समय–चक्र र सूर्यसँग जोडिएको तमु ल्होसारमा ‘ल्हो’ ले वर्ष र ‘सार’ ले फेरिनु भन्ने अर्थ बोकेको छ। यसलाई गुरुङ समुदायले नयाँ वर्षको सुरुवातका रूपमा लिने परम्परा छ। हिमाली तथा पहाडी भू–भागमा बसोबास गर्ने गुरुङ समुदायले सूर्यको ताप चाँडो पर्ने विश्वासका कारण पुस महिनामै तमु ल्होसार मनाउँदै आएका छन्।

लमजुङ, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, मनाङ, पर्वतलगायत जिल्लामा आज बिहानैदेखि घर–घरमा परम्परागत पूजा, शुभकामना आदान–प्रदान र सामूहिक भोजको तयारी गरिएको छ। परिवार र समुदायबीच मेलमिलाप र एकताको सन्देश प्रवाह गर्ने पर्वका रूपमा तमु ल्होसारलाई लिइन्छ।

पुस १५ गते वर्षकै सबैभन्दा लामो रात पर्ने र त्यसपछि दिन क्रमशः लामो हुँदै जाने भएकाले तमु ल्होसारलाई प्रकाश, आशा र नयाँ ऊर्जाको प्रतीक मानिन्छ। यही कारण यो पर्व प्रकृतिसँग नजिकको सांस्कृतिक उत्सवका रूपमा चिनिन्छ।

Advertisement

राजधानी काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा परम्परागत वेषभूषामा सजिएका पुरुष–महिलाले घाटु, सोरठी तथा अन्य मौलिक नृत्य प्रस्तुत गर्दै सांस्कृतिक पहिचान झल्काउनेछन्। साथै गुरुङ समुदायका मौलिक परिकारहरूको प्रदर्शनीसमेत गरिएको छ।

पछिल्ला वर्षहरूमा तमु ल्होसार समुदायमा मात्र सीमित नभई राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको छ। सार्वजनिक बिदा र खुला सांस्कृतिक कार्यक्रमले नेपालजस्तो बहुसांस्कृतिक समाजमा आपसी सद्भाव, सहअस्तित्व र सांस्कृतिक सम्मानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Advertisement