समाचार, खेलकुद, भर्खरै, समाचार

नेपालगञ्जमा क्रिकेट संकटः मैदानको अभावले सुक्दै पश्चिम नेपालको क्रिकेट केन्द्र

१४, पौष २०८२ सोमबार 

इरफान अलि 

बाँके, नेपालगञ्ज — पश्चिम नेपालकै प्रमुख क्रिकेट केन्द्रका रूपमा चिनिँदै आएको बाँकेको नेपालगञ्जमा पछिल्लो समय क्रिकेट गम्भीर संकटमा परेको छ। क्रिकेटप्रति युवाको आकर्षण अझै बलियो रहे पनि अभ्यासका लागि उपयुक्त र सार्वजनिक खेलमैदान नहुँदा खेलाडीहरू निराश बन्दै गएका छन्।

स्थानीय खेलाडी तथा क्रिकेटप्रेमीहरूका अनुसार अभ्यास गर्न जाने निश्चित स्थान नहुँदा नियमित प्रशिक्षण सम्भव भएको छैन। “कहाँ जाने अभ्यास गर्न ? मैदान नै छैन,” एक खेलाडीले गुनासो गर्दै भने, “स्कुल र निजी जमिनका मैदान सर्वसाधारणका लागि खुला हुँदैनन्।”

नेपालका ठूला सहरमध्ये एक नेपालगञ्जमा क्रिकेट मैदानको अभाव हुनु दुःखद विषय भएको उनीहरूको भनाइ छ। सुरक्षित र व्यवस्थित मैदान नहुँदा प्रतिभावान खेलाडीहरू अघि बढ्न नसकेको र जिल्लामा प्रतियोगिता आयोजना गर्न समेत समस्या भइरहेको छ।

Advertisement

यसैबीच, खेलाडीहरूले बाँके जिल्ला क्रिकेट संघ नामको मात्र बनेको आरोप लगाउँदै आएका छन्। संघ निष्क्रिय हुँदा क्रिकेट विकासका योजना र पहल कमजोर बनेको उनीहरूको गुनासो छ, जसले समस्यालाई अझ गहिरो बनाएको छ।

खेलमैदान बिना न नियमित अभ्यास सम्भव छ, न त प्रतिस्पर्धात्मक प्रतियोगिता। यसको प्रत्यक्ष असर बाँकेको क्रिकेट भविष्यमा देखिन थालेको छ। यदि समयमै क्रिकेटमैत्री मैदान निर्माण र दीर्घकालीन विकास योजना अघि बढाइएन भने नेपालगञ्जमा क्रिकेटको भविष्य अन्धकारमा जाने खेलाडीहरूको चेतावनी छ।

पछिल्लो समय युवाहरूको बढ्दो आकर्षणसँगै बाँके जिल्लामा क्रिकेट मैदानको माग झनै तीव्र बनेको छ। “राम्रो खेलमैदान निर्माण गर्न सकिए क्रिकेटको विकासमा ठूलो टेवा पुग्ने थियो,” उनीहरूले बताएका छन्।

Advertisement

क्रिकेट जोगाउन अब भाषण होइन, मैदान आवश्यक भएको आवाज नेपालगञ्जमा दिनप्रतिदिन चर्किँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1