१३, पौष २०८२ आइतबार
बाँके, नेपालगञ्ज – जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक मुस्लिम तर्फ बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट अब्दुल अजिज हल्वाईलाई पहिलो नम्बर (१ नम्बर) मा सिफारिस गर्दै युवा नेतृत्वलाई निर्णायक रूपमा अघि सारेको छ।

जसपा नेपाल जिल्ला समिति बाँकेको सर्वसम्मत निर्णय मार्फत हल्वाईलाई १ नम्बर प्राथमिकतासहित केन्द्रीय नेतृत्वमा सिफारिस गरिएको हो। पार्टीका अनुसार जनतासँग प्रत्यक्ष जोडिएको राजनीति, निरन्तर संघर्ष र मैदानमा आधारित सक्रियताकै कारण उनलाई शीर्ष प्राथमिकतामा राखिएको हो।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी हल्वाई राजनीति र कानुनका विद्यार्थी हुन्। उनी कर सहयोगी श्रमिक संगठन, नेपालका सदस्य, मानवता नेपाल बाँकेका कोषाध्यक्ष समेत रहँदै समाजसेवा, विभिन्न संघ–संस्थाको नेतृत्व, युवा संगठन निर्माण र खेलकुद अभियानमा लामो समयदेखि सक्रिय छन्। युवामाझ बलियो पकड, निरन्तर जनसम्पर्क र परिणाममुखी सक्रियता नै १ नम्बर सिफारिसको मुख्य आधार बनेको पार्टी स्रोतले जनाएको छ।

पार्टीभित्र पुराना ढर्रा अन्त्य गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बहस तीव्र भइरहेका बेला, हल्वाईको १ नम्बर सिफारिसलाई बाँके–२ मा पुस्तान्तरण र राजनीतिक पुनर्जागरणको स्पष्ट संकेतका रूपमा हेरिएको छ। बेरोजगारी, शिक्षा, खेलकुद, सामाजिक न्याय र सुशासनका सवालमा उनी स्पष्ट र निर्भीक धारणा राख्ने नेताका रूपमा चिनिन्छन्।
स्थानीय युवाका लागि रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र खेलकुद पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाउँदै आएका हल्वाईले

“अब संसदमा युवाको आवाज निर्णायक हुनुपर्छ” भन्ने अडान लिँदै आएका छन्।
जसपा नेपालले बाँके–२ मा जनमुखी, संघर्षशील र युवाको भरोसामा उभिएको नेतृत्व अपरिहार्य रहेको निष्कर्षसहित हल्वाईको नाम १ नम्बरमा सिफारिस गरी केन्द्रीय नेतृत्वमा पठाएको जनाएको छ। अन्तिम उम्मेदवारको टुंगो पार्टीको केन्द्रीय निर्णयपछि लाग्ने भए पनि, हल्वाईको सिफारिससँगै बाँके–२ को राजनीतिक तापक्रम उल्लेखनीय रूपमा बढेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

