जीवनशैली, भर्खरै, मनोरञ्जन, व्यापार, समाचार, समाचार

कोहलपुर महोत्सवमा आइतबार पल शाहको विशेष प्रस्तुति, दर्शकको उत्साह उच्च

१२, पौष २०८२ शनिबार 

बाँके, कोहलपुर –  कोहलपुरमा जारी कोहलपुर महोत्सव–२०८२ ले दर्शकको उल्लेखनीय सहभागिता जुटाउँदै थप रौनक पाएको छ। महोत्सवको चौथो दिन शनिबार करिब २० हजारभन्दा बढी दर्शक सहभागी भएपछि महोत्सवस्थल मानव सागरले भरिएको थियो।

चर्चित कलाकारहरूको प्रस्तुति रहने भएपछि कोहलपुर मात्र नभई आसपासका गाउँ–गाउँबाट दर्शकहरू महोत्सवस्थलमा आकर्षित भएका थिए। शनिबार गायिका शान्तीश्री परियार र भूमिका गिरी, गायक कमल वि.सी. माल्दाई र राज कुश्मी ले सशक्त सांगीतिक प्रस्तुति दिएका थिए भने नृत्याङ्गना तथा मोडल सुनिता दहित ले दर्शकलाई भरपूर मनोरञ्जन दिएकी थिइन्। दर्शकको उत्साहजनक सहभागिताले राष्ट्रिय तथा स्थानीय कलाकारहरूलाई पनि थप उत्साह प्रदान गरेको थियो।

पुस ९ गतेदेखि सुरु भएको महोत्सवमा यस वर्ष नयाँ प्रयोगका रूपमा ‘जनपरी’ कार्यक्रम समावेश गरिएको छ। साथै, विविध व्यावसायिक स्टल, बाल उद्यान, थारु गाउँ, कृषि प्रदर्शनी तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरूका कारण महोत्सव थप आकर्षणको केन्द्र बनेको छ।

टक शो कार्यक्रमको सुरुवात

महोत्सवकै क्रममा शनिबारदेखि टक शो कार्यक्रम पनि औपचारिक रूपमा सुरु गरिएको छ। पहिलो दिन “हाम्रो स्वास्थ्य, हाम्रो सरोकार” विषयक टक शोमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक प्रा. डा. रेशम बहादुर राना र स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. श्यामसुन्दर यादव ले विचार प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी प्रियास्मृति ढकाल ले गरेकी थिइन्।

Advertisement

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराई का अनुसार महोत्सव अवधिभर हरेक दिन बिहान १० देखि ११ बजेसम्म समसामयिक विषयमा केन्द्रित टक शो सञ्चालन गरिनेछ। टक शो कार्यक्रममा सहभागी हुन हरेक दिन बिहान १० बजेसम्म निःशुल्क प्रवेश को व्यवस्था गरिएको उनले जानकारी दिए।

आइतबार पल शाह आउने

महोत्सवको पाँचौँ दिन आइतबार चर्चित नायक पल शाह विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्। कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका संयोजक चण्डी प्रसाद गैरे का अनुसार आइतबार आस्था रावत, रमेशराज भट्टराई र बबिता लम्साल को पनि प्रस्तुति रहनेछ। साथै, हास्य कलाकार सुरेश केसी (मुलासाग) र शिव शंकर (पानवाला) ले दर्शकलाई हँसाउने कार्यक्रम रहेको छ। स्थानीय कलाकारहरूको प्रस्तुति पनि सोही दिन समावेश हुनेछ।

Advertisement

विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिता

महोत्सवमा विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिता समेत आयोजना गरिने भएको छ। कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका सह–संयोजक देविलाल सुनार का अनुसार प्रतियोगिता आइतबारदेखि सुरु हुनेछ।

दर्शकको बढ्दो सहभागिता र विविध कार्यक्रमका कारण कोहलपुर महोत्सव–२०८२ क्षेत्रकै प्रमुख सांस्कृतिक तथा व्यापारिक उत्सवका रूपमा स्थापित हुँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0