समाचार, भर्खरै, राजनीति, समाचार

नेकपाद्वारा दिपेन्द्र बिष्ट सिफारिस, युवा नेतृत्वलाई निर्णायक रूपमा अघि सारियो

१२, पौष २०८२ शनिबार 

बाँके, नेपालगञ्ज –  नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. २ बाट दिपेन्द्र बिष्टको नाम सिफारिस गर्दै युवा नेतृत्वलाई निर्णायक रूपमा अघि सारेको छ। पार्टी जिल्ला समिति बाँकेको बैठकले बिष्टलाई सर्वसम्मत रूपमा सिफारिस गर्दै केन्द्रीय नेतृत्वमा नाम पठाएको हो।

पार्टी स्रोतका अनुसार बिष्ट जनतासँग जोडिएको, संघर्षशील र परिवर्तनकारी युवा नेताका रूपमा परिचित छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ निवासी बिष्ट राजनीति, समाजसेवा, युवा संगठन निर्माण तथा खेलकुद अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। युवामाझ उनको बलियो पकड, निरन्तर जनसम्पर्क र मैदानमै आधारित राजनीतिक अभ्यास नै सिफारिसको प्रमुख आधार बनेको पार्टीको दाबी छ।

पार्टीभित्र पुराना ढर्रा तोड्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बहस तीव्र भइरहेका बेला बिष्टको सिफारिसलाई बाँके–२ मा पुस्तान्तरणको स्पष्ट सन्देशका रूपमा हेरिएको छ। बेरोजगारी, शिक्षा, खेलकुद, सामाजिक न्याय र सुशासनका मुद्दामा उनी स्पष्ट र व्यवहारिक धारणा राख्ने नेताका रूपमा चिनिन्छन्।

Advertisement

स्थानीय युवाका लागि रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र खेलकुद पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाउँदै आएका बिष्टले “अब संसदमा युवाको आवाज बलियो हुनुपर्छ” भन्ने अडान लिँदै आएका छन्।

पार्टीले बाँके–२ मा जनमुखी, संघर्षशील र युवाको भरोसामा उभिएको नेतृत्व आवश्यक रहेको निष्कर्षसहित बिष्टको नाम सिफारिस गरिएको जनाएको छ। अन्तिम उम्मेदवारको टुंगो पार्टीको केन्द्रीय निर्णयपछि लाग्ने भए पनि, बिष्टको सिफारिससँगै बाँके–२ को राजनीतिक माहोल थप तातिने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Advertisement