०९, पौष २०८२ बुधबार
बाँके, नरैनापुर – नरैनापुर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न मिडियाको तर्फबाट सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता बाँकेका पत्रकारहरूले जनाएका छन्।

नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार आयोजना गरेको ‘नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया तथा वनभोज कार्यक्रममा सहभागी पत्रकारहरूले नरैनापुरमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै मिडियाबाट नै पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न सकिने बताएका हुन्।

नरैनापुर गाउँपालिका वडा नं. २ लक्ष्मणपुरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आफू स्थानीय सरकारको नेतृत्वमा आएपछि नरैनापुरका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा निरन्तर पहल गर्दै आएको बताए। गाउँपालिकाले सन्तानेश्वर मन्दिर, बर्फानी बाबा आश्रम लगायतका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र विकासमा काम गरेको उनले जानकारी दिए।

‘केही वर्षअघि सन्तानेश्वर मन्दिरमा आयोजना गरिएको कार्यक्रममार्फत एकै दिन हजारौं दर्शनार्थी भित्र्याउन सफल भयौं,’ अध्यक्ष शाहले स्मरण गर्दै पर्यटन प्रवर्द्धनका लागि मिडिया र पत्रकारहरूसँग सहकार्य गर्न गाउँपालिका सधैं तयार रहेको बताए। धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न स्थानीय सरकारले विभिन्न पहल गरेको उनले उल्लेख गरे।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले नरैनापुरको पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। आगामी दिनमा पनि गाउँपालिकाले पत्रकार महासंघ र सञ्चार माध्यमलाई साथमा लिएर पर्यटन प्रवर्द्धनसम्बन्धी काम अघि बढाउनुपर्ने उनको सुझाव थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले नरैनापुर प्राकृतिक विविधताले भरिपूर्ण क्षेत्र भएकाले यहाँ आउने पर्यटकले फरक अनुभूति गर्न सक्ने बताए। ‘थोरै उकालो लाग्नासाथ शीतल हावापानीको अनुभूति हुन्छ, जैविक विविधता प्रशस्त छ,’ उनले भने, ‘सन्तानेश्वर मन्दिर, बर्फानी बाबा आश्रम, पर्यापर्यटन र कृषि पर्यटन नरैनापुरका प्रमुख सम्भावना हुन्।’ नरैनापुरको पर्यटनलाई सञ्चारको मूल प्रवाहमा जोड्नुपर्नेमा उनले जोड दिए।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नरैनापुर पर्यटनको ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै पर्यटनमार्फत आर्थिक समृद्धि सम्भव रहेको बताए। उनले पर्यटन प्रवर्द्धनका लागि पत्रकार महासंघ बाँकेले गाउँपालिकासँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै मिडियाको भूमिकाले पर्यटकीय स्थलको प्रचार–प्रसार, संरक्षण र संवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। गिरीले नरैनापुर अब दुर्गम नभई सुगम बन्दै गएको र विकासको मार्गमा अघि बढिसकेको बताए।
कार्यक्रममा नागरिक दैनिकका पत्रकार अर्जुन ओलीले ‘नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयक आधार पत्र प्रस्तुत गरेका थिए। प्रतिवेदनमा नरैनापुर धार्मिक, प्राकृतिक, सांस्कृतिक, ग्रामीण तथा कृषि पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरिएको छ। चुरे पहाड, वनजंगल, धार्मिक स्थल, बहुसांस्कृतिक सम्पदा र ग्रामीण जीवनशैली यहाँका प्रमुख विशेषता रहेको प्रतिवेदनमा उल्लेख छ। यद्यपि, पर्याप्त प्रचार–प्रसारको अभावले नरैनापुरको पर्यटन सम्भावना पूर्ण रूपमा उजागर हुन नसकेको निष्कर्ष निकालिएको छ।
प्रतिवेदनमार्फत पर्यटन स्थलको पहिचान, सकारात्मक छवि निर्माण, स्थानीय संस्कृति र पहिचानको संरक्षण, डिजिटल माध्यमको प्रयोग, लगानी आकर्षण तथा स्थानीय सरकारले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने सुझाव दिइएको छ।
कार्यक्रमको अन्त्यमा ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी गरिएको छ। घोषणापत्रमा नरैनापुरका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि सबै प्रकारका मिडियाबाट समाचार, फिचर, रिपोर्ट र भिडियो सामग्री निर्माण गरी सहकार्य गर्ने, चुरे पहाडलाई पर्यापर्यटनका रूपमा विकास गर्न पदयात्रा (हाइकिङ) सम्बन्धी गाउँपालिकाका योजना र नीतिको मिडियामार्फत प्रचार गर्ने, साथै नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनका लागि गाउँपालिका, पत्रकार महासंघ र सञ्चार माध्यमबीच निरन्तर सहकार्य गर्ने उल्लेख छ।
अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार शंकरप्रसाद खनालद्वारा तयार पारिएको घोषणापत्रलाई नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले गाउँपालिका अध्यक्ष शाहलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा गाउँपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मीकान्त मिश्र, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, पत्रकारहरू कमल खत्री, बैकुण्ठ अधिकारी, चन्द्रेश्वरराज त्रिपाठीलगायतले नरैनापुरको पर्यटन विकासका विषयमा आ–आफ्ना सुझाव तथा धारणा राखेका थिए।
कार्यक्रममा पत्रकार महासंघ बाँकेका साधारण सदस्य, बाँकेमा क्रियाशील विभिन्न सञ्चार माध्यमका पत्रकार, गाउँपालिकाका कर्मचारीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए।

