०१, पौष २०८२ मगंलवार
बाँके, कोहलपुर – योङ् कम्युनिस्ट लिग (YCL) नेपाल, बाँकेले कोहलपुरमा सञ्चालन हुन लागेको मेला तथा महोत्सवप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ।

कोहलपुर उद्योग वाणिज्य संघद्वारा मिति २०८२ साल पुस ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गर्न लागिएको मेला तथा महोत्सवमा देखिएका विभिन्न अनियमितता, अपारदर्शिता तथा जनजीविकामाथि प्रत्यक्ष असर पर्ने गतिविधिप्रति आपत्ति जनाउँदै YCL बाँकेले प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ मार्फत जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र दर्ता गराएको हो।

YCL बाँकेले जारी गरेको ज्ञापनपत्रमा अपारदर्शी ठेक्का प्रक्रिया, मुख्य सडक अवरुद्ध हुने गरी बनाइएका संरचना, स्थानीय व्यवसायीलाई मर्का पार्ने खालका कपडा तथा जुत्ताका स्टल, गुणस्तरहीन र अखाद्य वस्तुहरूको बिक्री, मदिरा तथा जुवाजन्य गतिविधि, जोखिमयुक्त खेलकुद, सामाजिक सद्भाव खल्बल्याउने कलाकार, अत्यधिक ध्वनि प्रदूषणलगायतका विषयहरू गम्भीर चिन्ताको विषय भएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा YCL ले मेला महोत्सवलाई केवल प्रदर्शनी केन्द्रका रूपमा सञ्चालन गर्न, स्थानीय व्यवसायीको हितविपरीत हुने कुनै पनि गतिविधि रोक्न, जोखिमयुक्त झुला तथा खेल बन्द गर्न, मदिरा र सुर्तिजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउन र ध्वनि प्रदूषण नियन्त्रण गर्न माग गरेको छ।
यसैगरी, विगत लामो समयदेखि सञ्चालनमा रहेको खुला व्यायामशाला र जुम्बा डान्स कार्यक्रमलाई पूर्ववत् रूपमा निर्वाध सञ्चालन गर्नुपर्ने माग पनि YCL ले अघि सारेको छ।
YCL बाँकेले आफ्नो मागहरू कोहलपुरबासी सम्पूर्ण नागरिकको साझा माग भएको दाबी गर्दै ती मागहरू तत्काल सम्बोधन नगरेमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासन, कोहलपुर नगरपालिका र आयोजक संस्था ले लिनुपर्ने स्पष्ट चेतावनी दिएको छ।
ज्ञापनपत्रको बोधार्थ कोहलपुर नगरपालिका, इलाका प्रशासन कार्यालय कोहलपुर, कोहलपुर उद्योग वाणिज्य संघ, कपडा व्यवसायी संघ, जुत्ता व्यवसायी संघ तथा किराना व्यवसायी संघलाई पठाइएको छ।

स्थानीय प्रशासनले यस विषयमा कस्तो निर्णय लिन्छ भन्नेमा अहिले कोहलपुरबासीको ध्यान केन्द्रित भएको छ।

