शिक्षा, भर्खरै, समाचार, समाचार

संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न : युवामा नेतृत्व, संसद सञ्चालन र लोकतान्त्रिक संस्कार विकास

२६, मंसिर २०८२ शुक्रबार 

बाँके – नेपालगञ्ज उपमहानगरपालिका स्तरीय युवा क्लब सञ्जालको आयोजनामा तथा नगरपालिकाको सहयोगसहित सेभ द चिल्ड्रेन, फतिमा फाउन्डेसन, सम्भावना फाउन्डेसन, सामाजिक विकास मञ्च, क्लिन नेपालगञ्ज–ग्रीन नेपालगञ्ज, सगरमाथा अंग्रेजी बोर्डिङ स्कुल र वडा नं १,४,५,८,९,११,१२,१४,१८,२२ को सहकार्यमा तीनदिने संघीय नमूना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम मंसिर २३ देखि २५ गतेसम्म सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रमको उद्देश्य युवाहरूलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको संरचना र काम–कर्तव्य, कानुन निर्माण प्रक्रिया, सरकार गठन र क्याबिनेट गठनको मोडल, तथा सदनमा समस्या प्रस्तुति र बहस सञ्चालन सम्बन्धी व्यावहारिक ज्ञान उपलब्ध गराउनु थियो।

प्रशिक्षक सहिल अन्सारी, वडा प्रहरी प्रमुख शेखर खड्का, नगर युवा सञ्जाल अध्यक्ष आनन्द कुमार बर्मा, सचिव सालिया हाशमी, सल्लाहकार राज बर्मा, अंकित मिश्रा, सदस्य मिथलेश पासी, प्रियंशी रावल, जेबा शेख र नन्दनी सिंहको नेतृत्वमा सहभागीहरूले सैद्धान्तिक मात्र नभई व्यवहारिक अभ्यासमार्फत विस्तृत प्रशिक्षण पाए।

प्रशिक्षक सहिल अन्सारीका अनुसार,

“नेपालको भावी नेतृत्व युवाहरूको हातमा छ। यस्ता प्रशिक्षणले उनीहरूलाई जिम्मेवार र जानकार नीति निर्माता बन्न आधार तयार गर्छ।”

Advertisement

अभ्यास सत्रमा युवाहरूले सरकार, प्रतिपक्ष तथा सदनका पदाधिकारी बनेर नमुना संसद सञ्चालन गरे। उनीहरूले जलवायु परिवर्तन, गुणस्तरीय शिक्षा, युवा रोजगारी जस्ता राष्ट्रिय मुद्दामा गहन बहस गरे। प्रतिपक्ष बनेर उनीहरूले सरकारद्वारा प्रस्तुत काल्पनिक विधेयकमा कडा प्रश्न–उत्तर गर्दै सदनको मर्यादा र नियमको पूर्ण पालन गरे।

Advertisement

सहभागी युवा संगीता विकले अनुभव बाँड्दै भनिन्–

“नीति बनाउन वा विधेयक पारित गर्न कति धेरै प्रक्रिया र बहस आवश्यक रहेछ भन्ने कुरा प्रत्यक्ष बुझ्न पाएँ। यो अभ्यासले भोट हाल्ने मात्र होइन, देशको राजनीतिक प्रक्रिया बुझ्ने जिम्मेवार नागरिक बन्न प्रेरित गर्‍यो।”

“युवाको हातमा नेतृत्व, समृद्ध नेपालको सुनिश्चितता” भन्ने मूल नाराका साथ सम्पन्न यो कार्यक्रमले युवाहरूमा नेतृत्व क्षमता, वक्तृत्व कला, सहनशीलता र लोकतान्त्रिक संस्कारको विकासमा महत्वपूर्ण योगदान गरेको आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0