२०, मङ्सिर २०८२ शनिबार
बाँके, नेपालगन्ज – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत धार्मिक अगुवा र सरोकारवालाबीच सामुदायिक सुरक्षा र हिंसा न्यूनीकरणका उपायमा व्यापक अन्तरक्रिया कार्यक्रम शनिवार नेपालगन्जमा सम्पन्न भयो।

अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल) को आयोजना तथा इस्लामी संघ नेपाल लुम्बिनी प्रदेशको सहआयोजनामा आयोजित कार्यक्रम आइडियल पब्लिक माध्यमिक विद्यालय, वडा नं. ७ मा भएको थियो। कार्यक्रममा इस्लामी संघ नेपालका केन्द्रिय अध्यक्ष नजरुल हसन फलाही प्रमुख अतिथि र निरन नेपाल तथा इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष उबैदुररहमान खान सभाध्यक्ष थिए।

कार्यक्रमको स्वागत मन्तव्यमा अल्हेरा एजुकेशनल सोसाइटी उपाध्यक्ष एवं इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश सचिव बद्री आलम खानले भने – “सामुदायिक एकता र महिलाको अधिकार सुनिश्चित गरेको समाजमा मात्र दीगो सु-शासन सम्भव छ।”

उबैद्द खानले सबै सरोकारवालाको सामूहिक प्रयासको आवश्यकतामा जोड दिँदै भने, “महिला र बालबालिकामाथि भएको हिंसा केवल व्यक्तिसम्बन्धी मुद्दा नभई सम्पूर्ण समाजलाई असर पार्ने भएकाले सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।”
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिष्टले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै भने, “नेपाल प्रहरीले महिला सुरक्षा र लैङ्गिक समानताप्रति शून्य सहनशीलता नीति अवलम्बन गर्दै, विभिन्न संघसंस्था, शैक्षिक संस्था र स्थानीय तहसँग समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।”

फातिमा फाउण्डेशन नेपालअध्यक्ष मैमुना सिद्धिकीले भने, “सकारात्मक सामाजिक परिवर्तन र हिंसा रोकथामका लागि प्रविधिलाई सुरक्षित प्रयोग गर्दै सशक्त आवाज उठाउने हिम्मत आवश्यक छ।”
बालबालिका, ज्येष्ठ नागरिक तथा महिला सेवा केन्द्र प्रमुख चन्द्रिका खनालले भने, “हिंसामा महिला र पुरुष दुवैको भूमिका हुन्छ। यसलाई न्यूनीकरण गर्न सबैको सक्रिय सहभागिता जरुरी छ। महिला–महिला विच पनि हिंसा भएको विषयलाई बेवास्ता गर्न सकिन्न।”

कार्यक्रममा धर्मगुरु, बुद्धिजीवी, समाजसेवी, महिला अगुवा, संघ संस्था तथा टोल विकासका प्रतिनिधि, साथै सञ्चारकर्मीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो

