१९, मंसिर २०८२ शुक्रबार
बाँके, नेपालगञ्ज – २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नेपालगञ्जमा आयोजित विशेष समारोहले ११ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ। वार्ड नं. ३ की शिवसेविका तथा समाजसेवी आशादेवी बैश्यसहित अन्य १० जना स्वयंसेविकालाई स्वास्थ्य सेवा, जनचेतना विस्तार र समुदायमा पुर्याएको महत्वपूर्ण योगदानका लागि सम्मान गरिएको हो।

लामो समयदेखि सक्रिय रूपमा सेवा पुर्याउँदै अवकाश लिनुभएकी नारायणी रुपा खेतीलाई भने ‘विदाइ तथा विशेष सम्मान’ प्रदान गरिएको कार्यक्रममा आयोजकहरूले जानकारी दिए। मातृ–शिशु स्वास्थ्य, खोप अभियान, स्वास्थ्य परामर्शदेखि आपतकालीन परिस्थितिसम्म समुदायमा पुर्याएको निरन्तर योगदानकै कदरस्वरूप उनीहरू सम्मानित बनेका हुन्।

कार्यक्रमका प्रमुख अतिथिमा मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई तथा स्वास्थ्य महाशाखाका रामबहादुर चन्द्र उपस्थित थिए। अन्य स्वास्थ्यकर्मी, सामाजिक अगुवा र स्थानीयवासीको सक्रिय सहभागिताले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजनाले जनाएको छ।

वक्ताहरूले महिला स्वास्थ्य स्वयंसेविकालाई समुदायको स्वास्थ्य सुरक्षा र सुधारका मुख्य स्तम्भका रूपमा प्रशंसा गर्दै निरन्तरको समर्पण र त्यागका लागि धन्यवाद व्यक्त गरे। स्थानीय तहले आगामी १५ दिनसम्म स्वयंसेविकाहरूको भूमिकालाई अझ सशक्त बनाउने उद्देश्यले स्वास्थ्य सचेतना तथा सम्मान अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने योजनासमेत सार्वजनिक गरेको छ।

कार्यक्रम सम्पन्न हुँदै आयोजकहरूले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा–भावनाले समुदायलाई स्वस्थ, सचेत र सुरक्षित बनाउन महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गर्दै निरन्तर सहयोगका लागि शुभकामना व्यक्त गरे।

