१६, मंसिर २०८२ मगंलवार
बाँके, नेपालगन्ज — बाँकेको नेपालगन्जमा सामाजिक खबरदारी, अनियमितता विरुद्धको आवाज, शिक्षा–स्वास्थ्य तथा स्थानीय राजनीतिक विकृति–विकर्षणको भण्डाफोर गर्ने उद्देश्यसहित स्थापन गरिएको ‘नेपाल संवाद क्लब’ को केन्द्रीय कार्यालय नेपालगञ्ज–१० पासाङ ल्यामु मार्गमा भव्य रूपमा उद्घाटन गरिएको छ।

रिपोर्टर्स क्लबका सञ्चालक तथा वरिष्ठ पत्रकार ऋषि धमला प्रमुख अतिथि रहेका कार्यक्रममा उनले क्लबको यात्रा सफल रहोस् भनी शुभेच्छा व्यक्त गर्दै भने,
“संवादले समाज चलाउँछ, विवेकपूर्ण आवाजले राष्ट्र बलियो बन्छ। भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न युवाहरूको तथ्य–सत्यमा आधारित पत्रकारिता अत्यन्त जरुरी छ।”

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष आशिष मल्ल ठकुरी ले गरेका थिए। कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकार, उद्योगी–व्यवसायी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

अतिथि तथा सहभागी वक्ताहरूले संवाद क्लबले स्थानीय तहका समस्या, जनताको आवाज र विकृतिहरूको पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै पारदर्शी, निष्पक्ष र जनमुखी पत्रकारिताको आवश्यकता औँल्याए।

कार्यक्रममा क्लबका पदाधिकारी तथा सहभागीहरूले वरिष्ठ पत्रकार ऋषि धमलालाई टीका, माला र खादा लगाई सम्मान अर्पण गरेका थिए।
कार्यक्रमको सञ्चालन पत्रकार दिनेश उपाध्याय ले गरेका थिए भने स्वागत मन्तव्य पत्रकार केपी घिमिरे ले राखेका थिए।

कार्यक्रमकै अन्त्यतिर धमलासँग पत्रकारहरूले खुला अन्तर्क्रिया सत्र समेत गरेका थिए।

