१४, मंसिर २०८२ आइतबार
नेपालगन्जमा दोस्रो मेयर कप हाप्किडो प्रतियोगिता–२०८२ को तयारी पूरा भएको छ। नेपाल हाप्किडो संघको आयोजनामा मंसिर २७ र २८ गते नेपालगन्ज उपमहानगरपालिका–७ स्थित स्वास्थ्य चौकी मैदानमा भव्य रुपमा प्रतियोगिता आयोजना हुने भएको हो।

बाँके र दाङका विद्यार्थीलक्षित प्रतियोगिताबारे आइतबार आयोजना गरिएको पत्रकार भेटघाटमा संयोजक गंगा कुमारी पुनले विद्यालय तहमै खेलकुदको उत्साह, उर्जा र राष्ट्रिय एकताको भावना फैलाउँदै हाप्किडो खेललाई संस्थागत गर्ने उद्देश्य रहेको बताइन्।

लुम्बिनी प्रदेशका १५ भन्दा बढी विद्यालयका टिम सहभागी हुने अपेक्षा गरिएको प्रतियोगितामा करिब २ सयभन्दा बढी विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। छात्र–छात्रा दुवै वर्गमा तौल र आयु समूहअनुसार व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धा हुनेछ।
फाइटिङ, सेल्फ–डिफेन्स डेमोन्स्ट्रेसन, स्पारिङ र टेक्निकल फॉर्मजस्ता विधा समावेश गरिएको प्रतियोगिताबाट विद्यार्थीहरूको आत्मरक्षा क्षमता, शारीरिक–मानसिक बलियोपन र आत्मविश्वास अभिवृद्धि हुने आयोजकको विश्वास छ।
समापन समारोहमा उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा टिमहरूलाई पदक, प्रमाणपत्र र विशेष सम्मानले पुरस्कृत गरिने संयोजक पुनले जानकारी दिइन्।

