५, मंसिर २०८२ शुक्रबार
बाँके, नेपालगञ्ज – नेपाल संवाद क्लबले मंसिर १६ गते विशेष समारोहमार्फत आफ्नो औपचारिक उद्घाटन गर्ने घोषणा गरेको छ। क्लबका अध्यक्ष आशिष मल्ल ठकुरीका अनुसार राजधानीमा आयोजना हुने उक्त कार्यक्रम वरिष्ठ पत्रकार ऋषि धमलाले उद्घाटन गर्नेछन्। देशभरका श्रमजीवी पत्रकार, रिपोर्टर तथा समाचारकर्मीलाई एउटै संगठनात्मक ढाँचामा संगठित गर्ने लक्ष्यसहित क्लबको स्थापना गरिएको हो।
अध्यक्ष मल्लका अनुसार क्लबको आत्मा चार प्रमुख मूल्यमा आधारित छ— लोकतन्त्र, विधिको शासन, कानूनी राज्य र प्रेस स्वतन्त्रता। यी मूल्यमा कुनै सम्झौता नहुने उल्लेख गर्दै उनले भने, “पत्रकारहरू लोकतन्त्रका पहरेदार हुन्, उनीहरूको मजबुती नै राष्ट्रको लोकतान्त्रिक संरचनाको मेरुदण्ड हो।”
नेपाल संवाद क्लबले पत्रकारहरूको हकहित संरक्षण, सुरक्षा सुनिश्चितता, क्षमता अभिवृद्धि, तालिम, सीप विकास र सम्मान–प्रोत्साहनलाई प्रमुख प्राथमिकतामा राखेको छ। स्वतन्त्र पत्रकारिता प्रवर्द्धन र कानूनी राज्य बलियो बनाउन संस्था सक्रिय भूमिका खेल्ने बताइएको छ।
देश–विदेशमा रहेका नेपाली पत्रकारलाई आधुनिक सञ्जालमार्फत जोडेर राष्ट्रिय विकास, सुशासन र समृद्धि अभियानमा पेशागत सशक्तिकरणमार्फत ठोस योगदान गर्ने क्लबको दीर्घकालीन लक्ष्य रहेको अध्यक्ष मल्लले जानकारी दिए।
उद्घाटन समारोहमा देशभरका पत्रकार, बुद्धिजीवी, कानुन व्यवसायी, अधिकारकर्मी तथा लोकतान्त्रिक मूल्यमा विश्वास राख्ने व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ।

