०९, असोज २०८२ बिहिवार
बाँके, नेपालगन्ज — बाँकेको गोल्डेन एबीसी एकेडेमी हाईस्कूलले दुई दशक नपुग्दै शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप र व्यवस्थित व्यवस्थापनका कारण अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको छ।
२०६५ सालमा स्थापना भएको यो विद्यालयले निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ। हालैको २०८१ सालको परीक्षामा कक्षा ८ का १०५ विद्यार्थीमध्ये १८ जनाले ४ जीपीए र ७५ जनाले ए प्लस ल्याउँदा, एसईईमा सहभागी ८१ विद्यार्थीमध्ये २५ जनाले ए प्लस र ५२ जनाले ए ल्याएका छन्। यसपटक पनि विद्यालयले शतप्रतिशत सफलता कायम गर्दै आफ्नो स्तर प्रमाणित गरेको हो।
विद्यालयले खेलकुद, कला, स्वास्थ्यजस्ता अतिरिक्त क्रियाकलापमा समेत उल्लेखनीय सफलता पाएको छ। विद्यार्थीहरूले स्थानीयदेखि राष्ट्रिय स्तरका प्रतियोगितामा गोल्ड मेडलसहित थुप्रै पुरस्कार जित्दै विद्यालयको प्रतिष्ठा बढाएका छन्।
सञ्चालक विकास बहादुर सिंहका अनुसार, “शिक्षक खुसी भए मात्र विद्यार्थी खुसी हुन्छन्।” त्यसैले विद्यालयले करिब ९० जना शिक्षक–कर्मचारीलाई १२ हजारदेखि ८० हजारसम्म पारिश्रमिक दिनुका साथै यातायातलगायतका सुविधा उपलब्ध गराएको छ।
हाल करिब १६ सय विद्यार्थी अध्ययनरत यस विद्यालयको आयस्रोत शुल्क नै भए पनि, अभिभावकले शुल्क ढिला तिर्ने चुनौती रहेको सिंहले बताए। तर, विद्यालयले कहिल्यै विद्यार्थीलाई दबाब नदिइ सामान्य व्यवहारमार्फत शुल्क बुझाउने प्रथा अपनाएको छ।
अभिभावक जुनैद खान भन्छन्, “ढिला तिरे पनि विद्यालयले धैर्यपूर्वक पर्खिने गर्दछ, त्यसैले हामी सन्तुष्ट छौं।”
गुणस्तरिय शिक्षा र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको गोल्डेन एबीसी एकेडेमीले भविष्यमा सामाजिक, सांस्कृतिक र प्राविधिक क्षेत्रमा समेत विद्यार्थीलाई सक्षम बनाउन योगदान दिने योजना अघि सारेको छ।
यसरी दुई दशकको यात्रामा गोल्डेन एबीसी एकेडेमी बाँके आज “क” वर्गको विद्यालयको रूपमा शैक्षिक उत्कृष्टता र व्यवस्थित व्यवस्थापनमा उदाहरणीय बनेको छ।