०९ असोज २०८२ बिहीबार
काठमाडौं । नेपाल टेलिकमका निर्देशक डिल्ली अधिकारी, इन्दल यादव, अजय कडेल र प्रकाश सिग्देलले ठूला डिजिटल भुक्तानी सेवा प्रदायक (ई–सेवा, खल्ती र नमस्ते–पे) मार्फत मात्र सिम कार्ड तथा ई–रिचार्ज वितरण गर्ने सम्झौता गरेको खुलासा भएपछि विवाद बढेको छ।
डिलरहरूका अनुसार सम्झौता गर्दा ठुलो रकम आदान–प्रदान भएको आशंका गरिएको छ भने, डिलरहरूले रकम मागिएको आरोपसमेत लगाएका छन्। यसले देशभरका पुराना डिलरलाई काम गर्न असहज भएको छ।
पछिल्लो एक महिनादेखि डिलरहरूले सिम कार्ड र रिचार्ज बिक्री गर्न नसकेको र व्यवसाय ठप्प भएको गुनासो गरेका छन्। उनीहरूले सम्झौता राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा आधारित भएको भन्दै आपत्ति जनाएका छन्।
डिल्ली अधिकारी एमाले कोटाबाट व्यवस्थापकीय निर्देशक (एमडी) बनेपछि ई–सेवालाई उच्च कमीशन दर दिने निर्णय गरिएको र यसले राज्यलाई दैनिक करोडौंको घाटा पुर्याइरहेको आरोप लगाइएको छ। यता, ऐनसेलमा ई–रिचार्ज कमीशन २ प्रतिशत मात्र भए पनि टेलिकममा ४.५ प्रतिशत पुर्याइएको छ, जसले सरकारलाई दैनिक ५० लाख बराबर नोक्सानी हुने व्यवसायीहरूको दाबी छ।
डिलरहरूले यी पदाधिकारीहरू राजनीतिक खोल ओढेर व्यक्तिगत स्वार्थका लागि टेलिकमलाई कमजोर बनाउन खोजेको भन्दै तत्काल छानबिन गर्न माग गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीहरू विरुद्ध पहिल्यै धेरै फाइल दर्ता भएको उल्लेख गर्दै, अब पनि गम्भीर अनुसन्धान आवश्यक भएको आवाज उठेको छ।