असोज ०४ शनिबार २०८२
बाँके, डुडुवा – डुडुवा गाउँपालिकामा आगजनी र तोडफोडमा संलग्न भएको भनी लगाइएको आरोपप्रति प्रदेशसभा सदस्य भण्डारी लाल अहिरले कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन्।
गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि र कर्मचारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्नै नेतृत्वमा घटना भएको भनी सार्वजनिक गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आरोपलाई “कपोलकल्पित र मनगढन्ते” भनेका छन्।
अहिरका अनुसार गाउँपालिकामा भएको अनियमितता र आर्थिक दुरुपयोग ढाकछोप गर्न अध्यक्षकै निर्देशनमा योजनाबद्ध ढंगले केही अराजक तत्त्वमार्फत लेखा शाखामा आगजनी गरिएको हो। उनले आन्दोलनरत स्थानीयवासीले सो आरोप सार्वजनिक रूपमा लगाएको र त्यसको यथार्थ बुझ्न आफू आन्दोलन स्थल पुगेको स्पष्ट पारेका छन्।
“जनताको करको रकम दुरुपयोग र गाउँपालिका भित्र लज बनाएर अनैतिक क्रियाकलाप भइरहेका भन्दै स्थानीय आन्दोलित भएका थिए। म जनप्रतिनिधिको हैसियतले जनताको माग बुझ्न गएको मात्र हुँ,” अहिरले विज्ञप्तिमा उल्लेख गरेका छन्।
गाउँपालिका तोडफोड र कर्मचारीमाथि हातपात गर्ने कार्य आफूले कल्पना पनि नगरेको भन्दै उनले राजनीतिक प्रतिशोधका कारण आरोप लगाइएको दाबी गरेका छन्। साथै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेका छन्।