समाचार, राजनीति, समाचार

भविष्यको लहर : Gen Z को विद्रोह, नेपाली राजनीतिमा निर्णायक मोड

२४ भदौ २०८२ मगंलवार 

बाँके, नेपालगन्ज – नेपालको राजनीतिक परिदृश्यमा अहिले Gen Z पुस्ताको विद्रोह एक नयाँ र निर्णायक शक्तिका रूपमा उदाएको छ। सन् १९९७ देखि २०१२ बीच जन्मेका युवाहरू अब केवल भविष्यको आशा मात्र नभई वर्तमानको राजनीतिक समीकरणलाई समेत हल्लाइरहेका छन्। प्रविधिसँग हुर्किएका, सामाजिक सञ्जालमा सक्रिय र विश्व राजनीतिबारे सचेत यो पुस्ताले परम्परागत, जड र भ्रष्ट राजनीतिलाई खुला चुनौती दिइरहेका छन्। उनीहरूको नारा छ – “कुर्सीका लागि होइन, परिवर्तनका लागि राजनीति।”

२०८२ भदौ २४ : इतिहासकै कालो दिन

काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमाथि राज्यले गरेको निर्मम दमनले २० जनाको ज्यान गयो र हजारौँ घाइते भए। स्कुले पोशाकमै रहेका नाबालकदेखि कलेजका विद्यार्थीहरूलाई ‘चरा मारेजस्तै’ गोली हानिएको दृश्यले सम्पूर्ण देशलाई स्तब्ध तुल्यायो। यो दिन केवल एउटा घटनामात्र होइन, दशकौँको मौन पीडा र अन्यायविरुद्धको सामूहिक विस्फोट थियो।

किन विस्फोट भयो Gen Z को आक्रोश?

निर्वाचन प्रणालीको असफलता: २०४६ र २०६३ का राजनीतिक परिवर्तनपछिसमेत निर्वाचन प्रणालीमा सुधार नहुँदा स्थिर सरकार बन्न सकेन।

भ्रष्ट नेतृत्व: दशकौँदेखि उही अनुहारहरूले पालैपालो सत्ता सम्हाल्दा देशमा दण्डहीनता, भ्रष्टाचार र अदूरदर्शिता हावी भयो।

बचौलियाको संरक्षण: राजनीतिक दलहरूले भ्रष्ट र दलाललाई संरक्षण गर्दा राष्ट्रिय स्रोत दोहन भयो।

सामाजिक सञ्जालमाथि नियन्त्रण: अभिव्यक्तिको स्वतन्त्रता खोस्ने प्रयासले युवाहरूलाई झन् आक्रोशित बनायो।

“समाजवाद र प्रजातन्त्र” को आवरण: राजनीतिक दलहरूले आदर्शको खोल ओढेर जनतालाई बेवास्ता गर्दा युवा पुस्तामा विद्रोहको ज्वाला भड्कियो।

आन्दोलनका माग

Gen Z को आन्दोलन केवल भावनात्मक विस्फोट होइन, स्पष्ट मागसहितको राजनीतिक आन्दोलन हो। प्रमुख मागहरू:

१. संसद विघटन

२. सांसदहरूको सामूहिक राजीनामा

३. गोली हान्न आदेश दिने र दमन गर्ने उच्च अधिकारी निलम्बन

४. एक व्यक्तिको नेतृत्वमा सिफारिस भएको अन्तरिम सरकार गठन

५. अन्तरिम सरकारको नेतृत्वमा चाँडै नयाँ निर्वाचन

समाधानका सम्भावित बाटा

Advertisement

राजनीतिक विश्लेषकहरूका अनुसार संकट समाधानका लागि यी कदम जरुरी देखिन्छः

शीघ्र अन्तरिम नागरिक सरकारको गठन

२०४६ सालपछिका नीति–निर्णयको समीक्षा र सम्पत्ति छानबिन आयोग

Advertisement

संविधान संशोधन वा पुनर्लेखनका लागि उच्चस्तरीय समिति

हत्याकाण्डको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग

निष्कर्ष

भ्रष्टाचार, बेरोजगारी र असमानताविरुद्ध लामो समयदेखि दबिएको आक्रोश अहिले सडकमा विस्फोट भएको छ। यस आन्दोलनले एउटा कुरा स्पष्ट पारेको छ – नेपाली राजनीतिमा दशकौँदेखि जरा गाडेको पुरानो सत्ता अब हल्लिएको छ। Gen Z को बलिदान खेर जान नहुने सर्वत्र भावना फैलिएको छ।

अब सरकारको विकल्प दुईवटा मात्र छन् –

➡️ जनताको जायज माग सम्बोधन गर्दै मार्ग प्रशस्त गर्ने,

➡️ वा इतिहासकै क्रूरतम अध्यायमा आफ्नो नाम थपाउने।

Gen Z को यो विद्रोह केवल आक्रोशको क्षणिक प्रदर्शन होइन, बरु नेपालको शासन प्रणालीलाई नै पुनः परिभाषित गर्ने क्रान्तिको आधारशिला बन्न सक्छ।

लेखकः केशब शर्मा

कोहलपुर -१४, बाँके

(स्नातकोत्तर राजनीतिशास्त्र, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0