०६ भदौ २०८२ शुक्रबार
बाँके, नेपालगञ्ज – नेपाल प्रेस युनियन बाँकेले पत्रकार महिलाहरुका लागि आयोजना गरेको तीज विशेष लेखनवृत्ति प्रतियोगितामा लक्ष्मी विसी प्रथम भएकी छन् । विसीले लेखेको ‘बढ्दो आधुनिकीकरण र तीजको मौलिकता’ शीर्षकको फिचर लेख उत्कृष्ट ठहरिएको हो ।
प्रतियोगितामा आशा परियारको ‘ड्युटीमै बित्छ प्रहरी महिलाको तीज’ दोस्रो तथा शिवानी बिकको ‘त्यसपछि फेरि कहिल्यै तीज आएन शोभालाई’ शीर्षकको लेख तेस्रो भएको छ ।
सात जना सहभागीहरुमध्ये आरती कट्टेल (‘आमाबिनाको तीजः खजुराकी भावनाको दश वर्षको खालीपन’), निर्मला चौधरी (‘तीजको मौलिकता र आजको विकृति’), अछरी पोखरेल (‘श्रीमतीका किरिया किन नगर्ने ?’) र शान्ति सुनार (‘पहिलेको तीज÷अहिलेको तीज’) सान्त्वना बनेका छन् ।
विजेताले प्रमाणपत्रसहित नगद पुरस्कार प्राप्त गरेका छन् — प्रथमले ५ हजार, द्वितीयले ३ हजार, तृतीयले २ हजार तथा सान्त्वनाले जनही १ हजार रुपैयाँ ।
पुरस्कार वितरण नेपाली कांग्रेस बाँकेकी सचिव एवं लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी चौधरी, युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी र बाँके अध्यक्ष प्रियास्मृति ढकालले संयुक्तरूपमा गर्नुभएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले पत्रकार महिलाको लेखन क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम प्रशंसनीय रहेको बताउँदै यसले पत्रकारितामा महिलाको सक्रियता बढाउने विश्वास व्यक्त गर्नुभयो । वरिष्ठ उपाध्यक्ष केसीले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो भने अध्यक्ष ढकालले तीन वर्षदेखि नियमितरूपमा आयोजना हुँदै आएको प्रतियोगिताले पत्रकार महिलाको क्षमता विकासमा योगदान पुर्याइरहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँके अध्यक्ष नवीन गिरी, संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, क्रियाशील महिला पत्रकार समूह बाँके अध्यक्ष साबित्री गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतियोगिताको छनौट समितिका संयोजक नीरज कुमार गौतम र सदस्य किरण आचार्यले लेख मूल्यांकन र तीजको आध्यात्मिक महत्वबारे जानकारी दिनुभएको थियो । स्वागत युनियन बाँके सदस्य लक्ष्मी गौडेलले गर्नुभएको हो ।
युनियन बाँके सचिव भीष्म लोधका अनुसार, लेखनवृत्ति प्रतियोगिता आयोजना गरिएको यो तेस्रो पटक हो । यसै अवसरमा तीज मिलन कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।