समाचार, भर्खरै, मनोरञ्जन, व्यापार, समाचार

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवद्वारा ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिताको घोषणा

०७ भदौ २०८२ शनिबार 

काठमाडौं  – कर्णाली प्रदेशको लुकेका कथा, संस्कृति, इतिहास र सामाजिक यथार्थलाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्यसहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८२ अन्तर्गत ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिता शुक्रबार काठमाडौंमा घोषणा गरिएको छ।

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा महोत्सव सल्लाहकार तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षता थियो भने कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी, अभिनेता तथा निर्माता दीपक राज गिरी, विभिन्न स्थानीय प्रतिनिधि, कन्टेन्ट क्रियटर, लेखक तथा फिल्म क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

महोत्सव निर्देशक चक्र बहादुर चन्दले कर्णालीका मौलिक कथा र सम्पदा चलचित्रमा उतार्न यो अभियान सुरु गरिएको बताए। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले कर्णालीलाई विश्वस्तरीय पर्यटन गन्तव्य बनाउन कथाले ठूलो भूमिका खेल्ने बताए। अभिनेता दीपक राज गिरीले चलचित्र नै कर्णालीलाई चिनाउने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कथा सङ्कलन अभियान सराहनीय रहेको धारणा राखे।

पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रतियोगिताको अवधारणा पहिलो पटक सुनेको भन्दै कर्णाली सरकारले महोत्सवलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। महोत्सव सल्लाहकार डा. मल्लले कर्णालीकै मौलिकता मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताए।

प्रतियोगितामा नेपाल वा विदेशमा रहेका कुनै पनि नेपाली नागरिक सहभागी हुन सक्नेछन्। कथा मौलिक, अप्रकाशित र कर्णालीको संस्कृति, इतिहास वा सामाजिक यथार्थमा आधारित हुनुपर्नेछ।

पुरस्कार: प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार रुपैयाँ।

अवसर: उत्कृष्ट १५ कथाका लेखकलाई चलचित्र स्क्रिप्ट लेखन तालिम र छनोट भएका कथालाई फिल्म निर्माणमा समावेश गर्दै ‘कथा लेखक’को श्रेयसहित उचित पारिश्रमिक।

Advertisement

म्याद: कथा पठाउने अन्तिम मिति २०८२ पुस १६।

नतिजा: माघ १८ गते सार्वजनिक।

तालिम: फागुन १३ गते।

Advertisement

पुरस्कार वितरण: फागुन २३ गते।

कथा पठाउने ठेगाना: mail@karnalifilmfestival.org।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत सञ्चालन हुँदै आएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले चलचित्रमार्फत कर्णालीलाई विश्वस्तरीय पर्यटन तथा सांस्कृतिक गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0