०३ भदौ २०८२ मगंलवार
बाँके, नेपालगञ्ज — अखिल नेपाल खेलकुद महासङ्घ बाकेको प्रथम जिल्ला सम्मेलनले सुरेन्द्र जङ्ग शाहको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेको छ।
नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अन्तर्गत गठन भएको महासङ्घको सम्मेलन चन्द्र प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त सम्मेलनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सहसचिव तथा खेलकुद महासङ्घ फ्याक्सन इन्चार्ज क. अक्कल बहादुर बम प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। साथै महासङ्घका केन्द्रिय उपाध्यक्ष गेहेन्द्र ढकाल, पार्टी जिल्ला संयोजक नरेन्द्र पान्डे, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपमहासचिव रेशम अधिकारीलगायत नेताहरूको उपस्थिति थियो।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि बमले खेलाडी र खेललाई राष्ट्र चिनाउने महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै, आफूले खेलकुदप्रतिको लगावकै कारण विगतमा सकारात्मक भूमिका निर्वाह गरेको स्मरण गरे। यसैगरी, महासङ्घका उपाध्यक्ष ढकालले पार्टीले अब खेलकुदलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने र खेलाडी–खेलकर्मीको समस्या समाधानमा अग्रसर हुनुपर्नेमा जोड दिए।
जिल्ला संयोजक नरेन्द्र पान्डे (जेम्स) ले खेलकुदलाई भावनासँग जोडेर समग्र खेल क्षेत्रलाई एकताबद्ध गरेर अघि बढाउनुपर्ने धारणा राखे।
कार्यक्रमको सञ्चालन प्रेस सेन्टर बाँकेका जिल्ला सदस्य जनार्दन खत्रीले गरेका थिए।
यसै क्रममा सम्पन्न बन्दसत्रबाट सुरेन्द्र जङ्ग शाहको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत गठन गरिएको हो।