१० साउन २०८२ शनिबार
काठमाडौं, — गणतन्त्र स्थापनाको ऐतिहासिक संघर्षमा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण गरिने भएको छ। चलचित्रको पहिलो पोस्टर शनिबार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गरेका हुन्।
पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले, “गणतन्त्र स्थापनाको संघर्ष र त्यसपछिको सामाजिक, राजनीतिक तथा आर्थिक अवस्था बुझ्न युवा पुस्तालाई चलचित्रले सघाउनेछ,” भन्दै यो चलचित्र शिक्षामूलक हुने विश्वास व्यक्त गरे। उनले विगतको समाज र आन्दोलनका पाटोबारे नयाँ पुस्ताले जान्न आवश्यक रहेको उल्लेख गरे।
**रुद्राक्ष फिल्म्स प्रा.लि.**को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको निर्देशन उपेन्द्र तिमिल्सिना ले गर्ने छन्। निर्माता रुद्र प्रसाद खनाल का अनुसार चलचित्रको छायाँकन भाद्र दोस्रो साताबाट सुरु हुने छ भने प्रदर्शन मिति फागुन १ तय गरिएको छ।
निर्देशक तिमिल्सिनाले ‘जनक्रान्ति’मा गणतन्त्र स्थापनासँग जोडिएका विभिन्न आन्दोलनहरूको पृष्ठभूमिमा आधारित कथा समेटिएको जानकारी दिए। सत्य घटनामा आधारित चलचित्रले राजनीतिक परिवर्तनका क्रममा भएका संघर्षहरू चित्रण गर्ने र युवाहरुलाई इतिहास बुझ्न सहज बनाउने लक्ष्य लिएको निर्माण पक्षले बताएको छ।
चलचित्रको छायाँकन रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया, धनकुटा, खोटाङ, भोजपुर तथा सर्लाही लगायतका स्थानहरूमा गरिने छ, जसले चलचित्रलाई थप वास्तविक र जीवन्त बनाउने विश्वास लिइएको छ।