०९ साउन २०८२ शुक्रबार
इरफान अलि (अरसद)
बाँके, नेपालगञ्ज — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरमा एक युवतीको विभत्स हत्या भएको छ। दैलेख घर भई नेपालगञ्जस्थित बीपी चोकको सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या उनका प्रेमी प्रकाश सुनारले गरेका हुन् भन्ने प्रारम्भिक पुष्टि भएको छ।
प्रहरीका अनुसार बर्दिया घर भई नेपालगञ्जको स्वास्तिक कटेजमा क्याप्टेनको रूपमा काम गर्दै आएका ३५ वर्षीय प्रकाश सुनारले बुधबार बिहान निर्मलाको घाँटीमा सल बेरेर हत्या गरेका थिए। निर्मलाकी बहिनीलाई ‘दिदीलाई मैले मारेँ’ भन्दै फोन गरी घटना स्वीकृति दिएका थिए। त्यसपछि उनले आफन्त तथा साथीभाइलाई ‘अब भेटघाट यतिमै’ भन्ने सन्देश पठाएका थिए। राति करिब २ बजे उनी आफैँ जिल्ला प्रहरी कार्यालय बाँकेमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए।
प्रकाश विवाहित व्यक्ति हुन्। उनका श्रीमती र दुई सन्तान हाल बर्दियामै बस्दै आएका छन्। मृतक निर्मला र प्रकाशबीच करिब तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको र उनीहरू बेलासपुरमा सँगै बस्दै आएको मृतक परिवार स्रोतले बताएको छ।
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक याम बुढा मगरका अनुसार मृतकको शव घटना भएको दुई दिनपछि भेरी अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ।
यस घटनाले स्थानीय बासिन्दालाई गहिरो मानसिक आघात पुर्याएको छ। महिला हिंसाका घटनाले पुनः एकपटक समाजलाई झस्क्याएको भन्दै स्थानीयले दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेका छन्। साथै, यस्ता घटनाको पुनरावृत्ति रोक्न समाजमा लैंगिक हिंसाविरुद्ध व्यापक जनचेतना आवश्यक रहेको आवाज उठ्न थालेको छ।