भर्खरै, समाचार, समाचार

मल अभावविरुद्ध माओवादी केन्द्रको आवाज : बाँकेको प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयलाई ६ बुँदे ज्ञापनपत्र

८ साउन २०८२ बिहिवार

इरफान अलि (अरसद) 

बाँके, नेपालगञ्ज – धान रोपाइँको मौसमी चटारो छ तर किसानको खेतमा मल छैन। यस्तो अवस्थामा नेकपा (माओवादी केन्द्र) नेपालगञ्ज उपमहानगरपालिका समितिले किसानको पक्षमा कडा आवाज उठाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ।

पार्टीका अध्यक्ष प्रेम शाह र सचिव धर्मराज न्यौपानेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत बुझाइएको उक्त ज्ञापनपत्रमा रासायनिक मलको चरम अभावले कृषक समुदायको पीडा झनै गहिरिँदै गएको भन्दै तत्काल समाधानका लागि सरकारलाई गम्भीर आग्रह गरिएको छ।

धान रोपाइँको समयमा मल अभाव, किसान रित्तो हात

ज्ञापनपत्रमा भनिएको छ – “एकातिर सिँचाइको अभाव, अर्कोतिर युरिया, डिएपी र पोटास जस्ता आवश्यक मल नपाउँदा धान उत्पादनमा भारी गिरावट आउने, लागत बढ्ने र किसानको जीवनस्तरमात्र होइन, देशको कुल ग्राहस्थ उत्पादन (GDP) नै संकटमा पर्ने स्थिति देखिएको छ।”

कालोबजारी, ढिला प्रक्रिया र पारदर्शिताको कमीप्रति गम्भीर आपत्ति

मल वितरणमा देखिएको कालोबजारी, सरकारी खरिद प्रक्रियाको ढिलासुस्ती, अनुदानको मल वितरणमा पारदर्शिताको अभाव लगायत विषयप्रति माओवादी केन्द्रले कडा आपत्ति जनाउँदै निम्न ६ सूत्रीय मागहरु अघि सारेको छ:

१- तत्काल मल आपूर्ति सुनिश्चित गरियोस्, विशेषतः धान रोपाइँको सिजनलाई ध्यानमा राख्दै।

२- मल आपूर्तिका लागि दीर्घकालीन रणनीतिक योजना निर्माण गरियोस्।

Advertisement

३- वितरण प्रणालीमा पारदर्शिता र प्रभावकारिता कायम राख्दै स्थानीय तहमा अनुगमन समिति गठन गरियोस्।

४- कालोबजारी अन्त्य गरियोस् र दोषीमाथि कडा कारबाही गरियोस्।

५- प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्दै त्यसमा किसानलाई आकर्षण गरिने नीति ल्याइयोस्।

Advertisement

६- मल खरिद प्रक्रिया समयमै सम्पन्न गरी मल किसानको वारीसम्म पुर्‍याउने सुनिश्चितता दिइयोस्।

आन्दोलनको चेतावनी

पार्टीले स्पष्ट शब्दमा चेतावनी दिएको छ – “यदि यी मागहरू यथाशीघ्र सम्बोधन भएनन् भने माओवादी केन्द्र मौन बस्ने छैन। किसानलाई संगठित गर्दै आवश्यक भए कठोर आन्दोलनात्मक कार्यक्रम अगाडि बढाउने छ।”

ज्ञापनपत्रको प्रतिलिपि कृषि कम्पनी लिमिटेड नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका, तथा जिल्ला सहकारी संघ बाँके लाई समेत बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0