२४ असार २०८२ मगंलवार
नेपालगञ्ज, बाँके — खजुरा गाउँपालिकाले उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रविधिमैत्री कृषि विस्तार गर्ने उद्देश्यले ‘बाली विशेष पकेट कार्यक्रम’लाई प्राथमिकता दिँदै कृषकहरूलाई कृषि यान्त्रीकरण सामग्री वितरण गरेको छ।
गाउँपालिकाका कृषि शाखा प्रमुख भगवती खड्काका अनुसार खजुराका सबै आठ वडालाई विशिष्ट बाली उत्पादनका लागि ‘पकेट क्षेत्र’ घोषणा गरिएको छ। वडा अनुसार बालीहरू यसप्रकार छन्: वडा १ – बेसार, वडा २ – टमाटर, वडा ३ – काँक्रो र तरकारी, वडा ४ – च्याउ र धान, वडा ५ र ६ – धनिया र अन्य तरकारी, वडा ७ – लसुन र प्याज, तथा वडा ८ – आलु।
यही योजनाअन्तर्गत हालै सम्पन्न भेलाबाट ५० कृषकमध्ये २५ जना ‘कृषक पाठशाला’का लागि छनोट गरिए। छनोटमा परेका कृषक समूह र फर्महरूलाई मिनी टिलर, पावर टिलर, सिँचाइ उपकरण, कालो पाइप, फलामको पाइप लगायतका यान्त्रिक सामग्री अनुदानमा वितरण गरिएको हो।
खडकाका अनुसार आर्थिक वर्ष ०८१/०८२ का लागि ८५ लाखको बजेट विनियोजन गरिएकोमा १२ लाख रुपैयाँ कृषक पाठशालाका लागि खर्च गरिएको छ। दुई विघा क्षेत्रफलमा खेती गरिरहेका कृषकहरूलाई मात्र ३ लाख २५ हजार बराबरका सामग्री वितरण गरिएको थियो।
“विशेष बालीको निरन्तरता, उत्पादन वृद्धिको स्थायित्व र कृषि रोजगारीको विस्तार हाम्रो लक्ष्य हो,” खडकाले भनिन्।
स्थानीय तहको नेतृत्वमा प्रविधिलाई गाउँस्तरमा पुर्याउने प्रयासका रूपमा खजुराको पकेट प्रणाली कृषि यान्त्रीकरणको उदाहरणीय अभ्यास बन्ने देखिन्छ। यद्यपि, दीर्घकालीन सफलताका लागि उत्पादनसँगै बजार पहुँच, भण्डारण प्रणाली र मूल्य स्थायित्वमा समेत एकैपटक ध्यान दिनुपर्ने खाँचो देखिएको छ।