२४ असार २०८२ मगंलवार
काठमाडौं, – शिक्षा प्रणालीमा सुधारको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई आज ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमार्फत संगठनले हालको शिक्षा प्रणाली अझै पनि ५४ वर्ष पुरानो पञ्चायती शिक्षा ऐनमा आधारित रहेको उल्लेख गर्दै, यसले आम विद्यार्थी तथा नागरिकको पहुँचबाट शिक्षा टाढिएको स्पष्ट पारेको छ।
अध्यक्ष विरेन्द्र शाहद्वारा हस्ताक्षरित ज्ञापनमा भनिएको छ, “शिक्षामा निजीकरण र व्यापारीकरणले शिक्षा मौलिक हकको रुपमा सुनिश्चित नगरेको र राज्य अझै नवउदारवादी नीति लागु गर्न उद्यत देखिएको” छ।
संगठनले शिक्षालाई वैज्ञानिक, समान र निःशुल्क बनाउँदै जनताको मौलिक हकका रूपमा स्थापित गर्ने जनपक्षीय शिक्षा ऐन संसदबाट अविलम्ब जारी गर्न सरकारसँग माग गरेको छ।
साथै, स्वार्थ समूहको दबाबमा जनविरोधी शिक्षा ऐन जारी गरिए विद्रोहको घोषणा गर्न बाध्य हुने चेतावनी पनि अखिल (क्रान्तिकारी) ले दिएको छ।
ज्ञापनमार्फत राज्य, संसद र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै संगठनले जनताको शिक्षा अधिकारको सुनिश्चितता आवश्यक रहेको उल्लेख गरेको छ।