२१ असार २०८२ शनिबार
तुलसीपुर, दाङ — दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत तुलसीपुरको पातुखोला पुल जीर्ण बन्दै गएपछि त्यसको संरक्षणका लागि माओवादी केन्द्र तुलसीपुरले श्रमदानमार्फत तटबन्ध निर्माण गरेको छ।
शनिबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मको श्रमदान कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पुलको मुनीको भाग बर्सेनि पानीले कटान गर्दै गहिरिँदै गएपछि पुल कमजोर बन्दै गएको स्थानीयवासीको गुनासो रहेको छ।
माओवादी केन्द्र तुलसीपुर नगर अध्यक्ष मोहन थापाका अनुसार, पुलको संरक्षणका लागि जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय तुलसीपुरले उपलब्ध गराएको ७ थान जालीको प्रयोग गरी तटबन्ध निर्माण गरिएको हो। “यो पुल पश्चिम दाङ जोड्ने अत्यन्तै महत्वपूर्ण संरचना हो। संरक्षणको अभावमा जोखिम बढिरहेकोले हामी आफैँ अघि सरेका हौँ,” उनले भने।
यसअघि पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइए पनि आवश्यक पहल नभएको गुनासो गर्दै तुलसीपुर उपमहानगरपालिका–९ का वडाध्यक्ष घनश्याम ढकालले भने, “स्थानीयले आवाज उठाउँदा पनि चासो नदिइएको हुँदा अब समुदाय आफैं जुट्न थालेको हो।”
माओवादी केन्द्रले आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वका कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएको छ।