१० असार २०८२ मगंलवार
बाँके, नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ। आज सम्पन्न १७औं नगरसभाको अधिवेशनमा सभाका उपाध्यक्ष तथा नगर उपप्रमुख कमरुद्दिन राईले बजेट सार्वजनिक गर्नुभएको हो।
वडास्तरीय कार्यक्रम र महाशाखा खर्चको स्पष्ट व्यवस्था
बजेटमा वडा कार्यालयहरूको लागि २० करोड रुपैयाँ र महाशाखा शाखामार्फत ८ करोड २५ लाख २४ हजार रुपैयाँको सिलिङ्ग निर्धारण गरिएको छ। त्यस्तै, चालू खर्चतर्फ ३८ करोड ५६ लाख छुट्याइएको छ।
आयको पक्षमा संघीय समानीकरण अनुदानबाट २६ करोड ७९ लाख, प्रदेश सरकारबाट १ करोड ९० लाख र आन्तरिक स्रोतबाट २२ करोड १२ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।
नीति कार्यक्रममा कृषि, पर्यटन र पूर्वाधार प्राथमिकता
नगर प्रमुख प्रशान्त विष्टले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि आधुनिकीकरण, गड्यौला मल र जडीबुटी खेती प्रवर्द्धन, पशु भ्याक्सिन कार्यक्रम, व्यापारिक पूर्वाधार निर्माण, धार्मिक र पर्यटकीय सर्किट विकास, जेष्ठ नागरिक स्वास्थ्य सेवा लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
विशेष कार्यक्रमहरूमध्ये—
धार्मिक सहिष्णुताको प्रवर्द्धन: बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा, १०८ फिटे हनुमानगढीलाई समेटेर ‘धार्मिक सर्किट’ को विकास।
पर्यटन प्रवर्द्धन: ‘Visit Western Nepal’ कार्यक्रम अन्तर्गत नेपालगन्जलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास।
शिक्षा र स्वास्थ्य: छात्रामैत्री शौचालय, धार्मिक विद्यालयमा गुणस्तरीय शिक्षा, जेष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा, अपांगता र अल्बानिज्म भएका व्यक्तिको स्वास्थ्य बीमा।
वातावरणीय सुधार: “एक घर एक रुख” अवधारणासहित नक्सा पासका लागि सफ्टवेयर प्रणालीको अनिवार्यता।
नगरसभा सदस्यहरूद्वारा शुभकामना मन्तव्य
सभामा वडा नम्बर २१ का अध्यक्ष राजकुमार साहु, वडा १८ का दीपक कुमार बर्मा, वडा ४ का गोपाल पुन, वडा ५ का सराफत हुसेन शेख, वडा २० का कौशल कुमार धोबी, वडा २ का मनोज कुमार श्रेष्ठ, र नगर प्रवक्ता प्रमोद रिजालले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रमको स्वागत प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले गर्नुभएको थियो। आगामी असार २९ गते बस्ने अर्को नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट संशोधनसहित पारित गरिने कार्यसूची तय गरिएको छ।