०४ असार २०८२ बुधबार ८:००
चितवन, – लामो समयदेखि शिक्षा र बाम राजनीतिमा सक्रिय नेता भरत प्रसाद साह नेकपा (एमाले) परित्याग गरी आज औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। चितवनमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीका लगाई स्वागत गरेसँगै साह माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साह विगत चार दशकदेखि शिक्षा, संगठन र राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका नेता हुन्। उनले २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा राजनीतिमा प्रवेश गरेका थिए भने २०३७ र २०३८ सालमा ठाकुरराम क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रियता देखाएका थिए।
शिक्षा क्षेत्रको नेतृत्वमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका साह एमाले शिक्षक संगठन बारा अध्यक्ष (२०५४–२०५९) र नेपाल शिक्षक युनियनका जिल्ला तथा केन्द्रीय अध्यक्षसमेत भइसकेका छन्। उनको दीर्घ संगठनात्मक अनुभव र जनसंपर्कले उनी एक स्थापित नेता रूपमा चिनिन्छन्।
एमालेको राष्ट्रिय सल्लाहकार परिषद सदस्य रहेका साहले हालै पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र रोजेका हुन्। पार्टी प्रवेशपछि बोल्दै अध्यक्ष प्रचण्डले भरत साहको आगमनले पार्टी संगठनलाई विशेषगरी मधेस क्षेत्रमा थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
साहको माओवादी केन्द्र प्रवेशसँगै बारा, कलैया लगायतका क्षेत्रमा पार्टीको सशक्त उपस्थिति विस्तार हुने अपेक्षा गरिएको छ।