०१ असार २०८२ आइतबार
उत्तराखण्ड, भारत — केदारनाथ यात्रामा गइरहेको एक हेलिकप्टर आज बिहान दुर्घटनाग्रस्त हुँदा सातजनाको ज्यान गएको छ। मृतकमध्ये एक बालक पनि छन्।
आर्यन एभिएशन कम्पनीको हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै गर्दा रुद्रप्रयाग जिल्लाको त्रिजुगीनारायण नजिकै, गौरीकुण्ड क्षेत्रमाथि दुर्घटनामा परेको हो।
दुर्घटनाको कारण खराब मौसम रहेको प्रारम्भिक अनुमान छ। दुर्घटनापछि हेलिकप्टरमा सवार कोही पनि जीवित नभएको पुष्टि गरिएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनामा गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “रुद्रप्रयाग जिल्लामा भएको हेलिकप्टर दुर्घटनाको खबर अत्यन्तै पीडादायक छ।”
उद्धार कार्यका लागि एसडीआरएफ र स्थानीय प्रशासन घटनास्थलमा खटिएका छन्।
सबैभन्दा उल्लेखनीय पक्ष के भने, दुर्घटनाको खबर प्रहरीसम्म पुर्याउने काम नेपाली मूलकी महिलाहरूले गरेका थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार ती महिलाहरू दुर्घटनाको बेला गौरीकुण्ड नजिकै घाँस काटिरहेका थिए। हेलिकप्टर खस्दै गरेको देखेपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेपछि उद्धार टोली परिचालन भएको थियो।
जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवार र हेलिकप्टर नोडल अधिकारी राहुल चौबेले पनि घटनाबारे जानकारी दिँदै नेपाली महिलाहरूको सूचनाका आधारमा उद्दार सुरु गरिएको पुष्टि गरेका छन्।