२४, जेष्ठ २०८२ शनिबार
(बिदाको दिन निर्माण कार्य, प्रशासनको आदेशमाथि प्रश्न उठ्यो)
बाँके, जयसपुर – नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १६ स्थित जयसपुरमा शनिबार राति एक दर्दनाक घटना घट्यो।
इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद तथा सार्वजनिक बिदाको दिन, सडक निर्माणको क्रममा तारकुल (बिटुमिन) बोकेको एक ट्यान्करमा अचानक भीषण आगलागी भयो। घटनामा एक व्यक्ति घाइते भएका छन् भने स्थानीय क्षेत्रमा भय र त्रासको वातावरण छाएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, राति करीब ९ बजे सडकमा तारकुल हाल्ने क्रममा ट्यान्करमा आगो लागेको हो। आगलागीपछि आगो नजिकैको बस्तीमा समेत फैलिन सक्ने जोखिमका कारण स्थानीयवासी घर बाहिर निस्केर त्रसित अवस्थामा देखिएका थिए।
स्थानीयवासीहरू यस घटनापछि आक्रोशित बनेका छन्। उनीहरूले सार्वजनिक बिदा र धार्मिक पर्वको दिन निर्माण कार्य किन गरियो भनेर प्रशासनसँग प्रश्न गरेका छन्। एक स्थानीयले भने, “बकर ईदको दिन र शनिबारजस्तो बिदामा सडक बनाउने आदेश कसले दियो? यस्तो लापरवाहीले जनजीवनमा अनावश्यक जोखिम सिर्जना गर्यो।”
प्रशासन र निर्माण कम्पनीमाथि विकासको नाममा जनसुरक्षा उपेक्षा गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। उनीहरूले तत्काल छानबिन गर्न, दोषी पक्षलाई कारबाही गर्न र भविष्यमा यस्ता कार्य नदोहोर्याउन स्पष्ट नीति बनाउन माग गरेका छन्।
यस घटनाले विकास निर्माणको पारदर्शिता, समय व्यवस्थापन र सुरक्षा मापदण्डको पालना सम्बन्धी गम्भीर प्रश्न उठाएको छ। स्थानीय प्रशासनले यथाशीघ्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नु अत्यावश्यक देखिन्छ।