२४, जेष्ठ २०८२ शनिबार
इरफान अलि (अरसद)
बाँके, नेपालगञ्ज – देशभरका मुस्लिम धर्मावलम्बीहरूले शनिबारबाट सुरु भएको इस्लाम धर्मको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) भव्य रूपमा मनाएका छन्। नेपालगञ्जको विपीचोकस्थित इदगाह मस्जिदमा बिहान ७ बजे हजारौं मुस्लिम धर्मावलम्बीहरूको उपस्थितिमा सामूहिक नमाजसँगै पर्वको शुभारम्भ भएको हो।
तस्बिर: मो. इमरान जसगढ
शान्ति, सद्भाव र विभेदरहित संविधानको कामना गर्दै सामूहिक प्रार्थनामा सहभागी धर्मावलम्बीहरूले एक अर्कासँग ‘इद मुबारक’ भन्दै अँगालो मारेर शुभकामना आदानप्रदान गरेका थिए। मस्जिदमा पुगेका श्रद्धालुहरू नेपालगञ्ज लगायत आसपासका ग्रामीण क्षेत्रबाट बिहानैदेखि भेला भएका थिए।
तस्बिर: मो. इमरान जसगढ
बकर इद पर्वको विशेषता हज र कुर्वानी (पशु वलि) हो। इदगाहमा नमाज पछि धर्मावलम्बीहरूले आ-आफ्नो क्षमताअनुसार राँगा, खसी, बाख्रा, भेडा र उँटको कुर्वानी दिएका छन्। नेपालगञ्जमा यसपालि हजारभन्दा बढी पशुहरू कुर्वानीका लागि ल्याइएको अनुमान गरिएको छ।
कुर्वानीबाट प्राप्त मासुलाई इस्लाम धर्मअनुसार तीन भागमा बाँडिन्छ। एक भाग परिवारका लागि, अर्को आफन्त तथा छरछिमेकका लागि, र तेस्रो भाग विपन्न तथा गरिब वर्गमा बाँड्ने परम्परा रहेको छ। यसरी समाजमा समानता र दया भावना अभिवृद्धि गर्ने उद्देश्य यस पर्वको मूल मर्म हो।
तस्बिर: मो. इमरान जसगढ
हिजरी संवत १४४५ को जिलहिज्जा महिनाको १० गतेदेखि सुरु भई तीन दिनसम्म चल्ने यो पर्व मुस्लिम समुदायको आस्थाको पर्व मात्र नभई मानवता, त्याग र सहिष्णुताको प्रतीकका रूपमा समेत चिनिन्छ।
नेपालगञ्जमा बकर इदको अवसरले बजारमा चहलपहल बढाएको छ। मेला जस्तै माहोलमा रूपान्तरण भएको विपीचोक क्षेत्र र इदगाह मस्जिद आसपासको वातावरणले धार्मिक सहिष्णुता र सामूहिक एकताको सन्देश दिएको छ।