समाचार

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको विस्तारित बैठक र प्रशिक्षण बाँके खजुरामा सफलतापूर्वक सम्पन्न

२३, जेष्ठ २०८२ शुक्रबार 

बाँके, खजुरा — प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम खजुरामा सम्पन्न भएको छ। संगठनका अध्यक्ष प्रदीप वाग्लेको अध्यक्षतामा सम्पन्न बैठकले तीन महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ।

बैठकले संगठनको संरचना थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले सञ्चारकर्मीहरूलाई विकृत प्रचारका बीच व्यवस्थाको पक्षमा सशक्त भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो। “व्यवस्थामाथि बुझिन नसकिने ढंगले प्रहार भइरहेकाले सञ्चारकर्मीहरू सजग र सचेत हुन जरुरी छ,” अध्यक्ष गिरीले भन्नुभयो, “हामी मिडिया क्याम्पेनमार्फत व्यवस्थाको पक्षमा जनमत निर्माण गर्नेछौं।”

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारी ‘प्रकाश’ ले सञ्चारकर्मीहरूले संविधान र व्यवस्थाको संरक्षणमा जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। “देशमा घुमाउरो शैलीमा व्यवस्था माथि आक्रमण भइरहेकाले पत्रकारहरूले त्यसको गम्भीर अध्ययन गर्नुपर्छ,” उहाँले भन्नुभयो। साथै संगठन भित्र कुनै असन्तुष्टि भए तत्कालै छलफलमार्फत समाधान खोज्न पनि उहाँले निर्देशन दिनुभयो।

Advertisement

महासचिव मनोज घर्तिमगरले प्रशिक्षणमूलक मन्तव्य दिँदै संगठन र बाह्य मोर्चासम्बन्धी विषयमा स्पष्ट मार्गनिर्देशन गर्नुभयो। संगठन नीतिगत विधिबाट अगाडि बढ्ने र सबैलाई समेटेर एकतामा आधारित कार्यदिशा अघि बढाउने उहाँको भनाइ थियो।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक ‘तुफान’ ले खजुराको विकासबारे जानकारी दिँदै सञ्चार माध्यमहरूले स्थानीय तहमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्नुभयो। “मैले गरेका प्रतिबद्धताहरू पूरा गर्दै आएको छु, बाँकी कार्यकालमा बाँकी काम सम्पन्न गर्नेछु,” उहाँले बताउनुभयो।

Advertisement

सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्ने क्रममा उपाध्यक्ष रामसिंह ठगुन्ना, केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, प्रचार विभाग सदस्य उदय जि.एम, केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य, र केन्द्रीय सचिव मानसिंह विक लगायतले संगठन सुदृढीकरण, सञ्चारकर्मीको क्षमता अभिवृद्धि र जनपक्षीय पत्रकारिताको महत्वमा प्रकाश पार्नुभयो।

बैठक र प्रशिक्षणले संगठनको भावी योजनामा स्पष्टता ल्याउनुका साथै सदस्यहरूमा उत्साह थपेको सहभागीहरूको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0