२३, जेष्ठ २०८२ शुक्रबार
इरफान अलि (अरसद)
नेपालगञ्ज, बाँके — हिमालयन बैंक लिमिटेड, नेपालगञ्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नीलसागर सेवा आश्रमलाई खाद्यान्न सामग्री प्रदान गरेको छ। शुक्रबार सम्पन्न सो कार्यक्रममा शाखा प्रमुख जितेन्द्र भण्डारीसहित बैंकका सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा शाखा प्रमुख भण्डारीले हरेक वर्ष बैंकले सामाजिक सेवामा सक्रिय सहभागिता जनाउँदै आएको जानकारी गराउँदै भने, “हाम्रो बैंकले समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै यस्ता सामाजिक क्रियाकलापलाई निरन्तरता दिँदै आएको छ। यसले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै मानविय मूल्यको प्रवर्द्धनमा टेवा पुर्याउँछ।”
खाद्यान्न वितरण कार्यक्रममा नीलसागर सेवा आश्रमका युवा संयोजक प्रकाश कुँवरले आश्रमको स्थापना, उद्देश्य र हालका गतिविधिहरूका बारेमा जानकारी गराएका थिए। उनले बैंकको सहयोगले सेवाग्राहीहरूलाई प्रत्यक्ष राहत मिलेको बताउँदै धन्यवाद ज्ञापन गरे।
समाजसेवामा बैंकहरूको सहभागिता आवश्यक रहेको सन्देश दिँदै सम्पन्न भएको कार्यक्रमले आर्थिक क्षेत्रको सामाजिक संवेदनशीलता दर्शाएको छ।