२३, जेष्ठ शुक्रबार २०८२
काठमाडौँ, जेठ २३ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले ओलीलाई नयाँ नेतृत्वका रूपमा सर्वसम्मत चयन गरेको हो।
निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले पुनः उम्मेदवारी नदिने घोषणा गरेपछि नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी र ठाकुर सौरागलगायत आकांक्षी थिए। अन्ततः सबैको सहमतिमा ओलीलाई नेतृत्वको जिम्मेवारी दिइएको हो। सम्मेलनले महासचिवमा गणेश शाहीलाई चयन गरेको छ भने अन्य पदाधिकारीको टुंगो आउन बाँकी रहेको वाईसीएल स्रोतले जनाएको छ।
दाङको पवननगरमा २०४३ साल पुस ७ गते जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) हुँदै राजनीतिमा सक्रिय छन्। २०५९ सालमा पूर्णकालीन पार्टी सदस्य बनेका उनी ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिको सिलसिलामा २०६१ मा गण्डक क्षेत्रमा सरुवा भएका थिए।
२०७४ सालमा रामप्रसाद सापकोटा अध्यक्ष हुँदा सचिव रहेका ओली २०७९ मा वाईसीएलको उपमहासचिव र प्रचार विभाग प्रमुखको जिम्मेवारीमा थिए। निरन्तर संगठनभित्रको भूमिकाबाट नेतृत्वको सिँढी चढ्दै आएका ओली अब वाईसीएलको शीर्ष स्थानमा पुगेका छन्।