समाचार

वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार, अनलाइन टिभी पत्रकार संघको क्षमायाचना माग

२३, जेष्ठ शुक्रबार २०८२ 

काठमाडौं, — वरिष्ठ अधिवक्ता शम्भु थापाले काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयबाहिर पत्रकारमाथि दुर्व्यवहार गरेका छन्। बिहीबार दिउँसो पत्रकार उमेश कार्कीको क्यामेरामा हातपात गरेका थापाको घटनाको भिडियो सार्वजनिक भइसकेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि राजधानी फर्किएका नेपालले आफ्ना कानुनी सल्लाहकारहरूसँग छलफल गरेका थिए। सोही क्रममा वरिष्ठ अधिवक्ता थापा र गोविन्द बन्दीलाई पार्टी कार्यालयमा बोलाइएको थियो।

छलफलपछि गेटबाट बाहिरिँदै गरेका थापाको तस्बिर खिच्दै गरेका पत्रकारहरूलाई थापाले आपत्ति जनाउँदै पत्रकार कार्कीको क्यामेरा हटाउन खोज्दा विवाद सुरु भएको थियो। थापाले बिना अनुमति फोटो खिचिएको भन्दै हातले क्यामेरा हटाउने प्रयास गर्दा उपस्थित पत्रकारहरू आक्रोशित बनेका थिए। उनीहरूले प्रतिवाद गर्दै, “तपाईंको घरमा आएर हामीले फोटो खिचेका छौं?” भन्ने प्रश्न गरेका थिए।

विवाद बढेपछि एकीकृत समाजवादीका नेता सुदेश पराजुलीले थापालाई गाडीमा पठाएर स्थिति नियन्त्रणमा लिएका थिए।

Advertisement

घटनापछि अनलाइन टिभी पत्रकार संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै थापाको व्यवहारको विरोध जनाएको छ। संघले सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गर्दै भनेको छ, “स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप अस्वीकार्य छ। शम्भु थापाले दुर्व्यवहारप्रति खेद व्यक्त गरी सार्वजनिक रूपमा क्षमा माग्नुपर्छ।”

पत्रकारहरूमाथिको दुव्र्यवहारप्रति सञ्चारकर्मी र स्वतन्त्र प्रेसका पक्षधरहरूले पनि सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरिरहेका छन्। घटनाले कानुनका ज्ञाताको हैसियतमा रहेका थापाको चरित्रमाथि समेत प्रश्न उठाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0