समाचार

खजुरा गाउँपालिकाका सबै माविमा जलवायु न्याय पाठ्यक्रम लागू, शिक्षकमाझ तीन दिने तालिम सम्पन्न

२२, जेष्ठ २०८२ बिहीबार 

नेपालगञ्ज, बाँके — खजुरा गाउँपालिकाले वातावरणीय शिक्षा र जलवायु परिवर्तनसम्बन्धी सचेतना अभिवृद्धि गर्नका लागि पालिकाभित्रका सम्पूर्ण १६ माध्यमिक विद्यालयहरूमा जलवायु न्याय पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ।

यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र बास नेपालको सहकार्यमा तीन दिने शिक्षक तालिम सम्पन्न भएको छ। जेठ १९ देखि २१ गतेसम्म सञ्चालित तालिममा प्रत्येक विद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमको समापन कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जलवायु न्याय पाठ्यक्रमको सकारात्मक प्रभाव देखिएकाले यसलाई पालिकाभर निरन्तरता दिने योजना रहेको बताए। साथै, रुम टु रिड र बास नेपालको प्राविधिक सहयोगको आवश्यकता पनि औंल्याउँदै पालिकाले आगामी वर्षहरूमा सर्वोत्कृष्ट विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गर्ने योजना बनाएको जानकारी दिए।

शिक्षकहरूको अनुभव

तालिममा सहभागी श्री नेरा माविका प्रधानाध्यापक माधव शर्माले जीवन उपयोगी सीप र जलवायु न्याय पाठ्यक्रमका विषयमा स्पष्टता प्राप्त भएको बताए। उनले तालिममा सिकिएका सीपहरू विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

श्री भानु माविका सम्पर्क शिक्षक गिता अर्यालले वालिका शिक्षा कार्यक्रममार्फत विद्यालयमा आएको सुधार उल्लेख गर्दै कार्यक्रमले विद्यार्थीको व्यवहारमा देखिएको सकारात्मक परिवर्तनप्रति सन्तोष व्यक्त गरिन्। पालिकाले कार्यक्रमलाई निरन्तरता दिएकोमा खुशी प्रकट गर्दै सहयोगी संस्थाहरूको निरन्तर समर्थनको अपेक्षा गरिन्।

सहयोगी संस्थाहरूको प्रतिबद्धता

Advertisement

रुम टु रिडका सिनियर कार्यक्रम अधिकृत जय प्रजापतिले खजुरा गाउँपालिकाले वालिका शिक्षा कार्यक्रमलाई आत्मसात् गर्दै अघि बढाएकोमा प्रसन्नता व्यक्त गरे। उनले पालिकाले थालेको उदाहरणीय कार्यलाई बास नेपालमार्फत निरन्तर प्राविधिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए।

तालिममा सहभागी शिक्षकमाथि जीवन उपयोगी सीपका १० प्रमुख तत्वहरू, जलवायु परिवर्तनसम्बन्धी ज्ञान, निर्देशिकामा उल्लेखित विशेष क्रियाकलापहरूको स्पष्टता, तथा लैङ्गिकता र जलवायु न्यायबीचको अन्तरसम्बन्धमा गहिरो जानकारी प्रदान गरिएको थियो।

Advertisement

तालिमको समापन सत्र बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजीकरण गरेका थिए भने अन्तिम धन्यवाद ज्ञापन बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले गरे।

तालिम सहजीकरणमा रुम टु रिडका सलिना तामाङ, जय प्रजापति, दिनेश पोखरेल, निरोज कोइराला, र बास नेपालका हेमराज भट्ट, जोशिना थारु, शोभा भण्डारी, सविता सुनार, जमुना चौधरीको उल्लेखनीय भूमिका रहेको थियो।

बास नेपालले रुम टु रिडको सहयोगमा बाँकेको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा वालिका शिक्षा कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0