२२, जेष्ठ २०८२ बिहिवार
काठमाडौं – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि ५ विकेटको सानदार जित दर्ता गर्दै शृंखलामा लगातार दोस्रो जित हात पारेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा अलआउट हुँदै २२५ रन बनायो। जवाफमा नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पछ्याउँदै विजयी हासिल गर्यो।
नेपालको जितमा आरिफ शेख नायक सावित भए। उनले ९८ बलमा ७ चौका र २ छक्का सहित ७८ रनको उत्कृष्ट पारी खेलेर मिडल अर्डर सम्हाले। आरिफ र दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि ८९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्याए। अन्ततः दीपेन्द्र (३८*) र गुल्सन झा (११*) ले सहज रुपमा खेल टुंग्याए।
नेपालका ओपनर आसिफ शेख (१९), कुशल भुर्तेल (२५), भीम सार्की (८), कप्तान रोहित पौडेल (२३) ले सानो योगदान दिए पनि आरिफ र दीपेन्द्रको संयमित ब्याटिङले टिमलाई संकटबाट उकास्यो।
यसअघि, नेदरल्यान्ड्सका लागि नोच क्रोसले सर्वाधिक ४८ रन बनाए। कप्तान स्कट इड्वार्डले ४६ रन जोडे भने विक्रमजित सिंहले ३८ रन बनाउँदै पारीलाई केही हदसम्म उकासे। नेपालका बलरहरू चम्किएका थिए – सोमपाल कामीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए।
नेपालले यसअघि शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई रोमाञ्चक एक विकेटले पराजित गर्दै सशक्त सुरुआत गरिसकेको थियो।
नेपालको बलियो प्रदर्शनले आगामी खेलप्रति आशा बढेको छ, जहाँ टोलीले निरन्तर सुधार र आत्मविश्वासका साथ अघि बढिरहेको देखिन्छ।