२१, जेष्ठ २०८२ बुधबार
कोहलपुर, – कोहलपुर नगरपालिकाको विकास, सेवा प्रवाहमा सुधार र स्थानीय समस्या समाधानका लागि नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार नगरप्रमुख पूर्ण प्रसाद आचार्यलाई ४१ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
नगर अध्यक्ष बलबहादुर खड्का ‘अबिरल’को नेतृत्वमा प्रस्तुत उक्त ज्ञापनपत्रमा कोहलपुर नगरभित्र देखिएका प्रमुख सामाजिक, भौतिक र प्रशासनिक समस्या तथा तिनको समाधानका सम्भाव्य उपायहरू समेटिएका छन्। साथै, नीति निर्माणमा समावेश गर्नुपर्ने विषयवस्तु र भावी योजनाका प्राथमिकता समेत स्पष्ट गरिएको छ।
अध्यक्ष खड्काले पछिल्लो समय नगर क्षेत्रमा लागुऔषध कारोबार, चोरी, डकैतीजस्ता आपराधिक गतिविधिमा वृद्धि भइरहेको जनाउँदै स्थानीय सरकारले यस्ता अपराध नियन्त्रणका लागि तुरुन्त कठोर कदम चाल्नुपर्नेमा जोड दिए। साथै, प्रत्येक वर्ष दोहोरिने बाढीजन्य विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न समयमै आपतकालीन पूर्वतयारी आवश्यक रहेको उल्लेख गरे।
ध्यानाकर्षण पत्रमा प्रशासनिक सेवा प्रवाहमा पारदर्शिता र चुस्तता, रोजगारी सिर्जनाका अवसर विस्तार, सार्वजनिक विद्यालयको गुणस्तरीयता अभिवृद्धि, आधारभूत स्वास्थ्य सेवामा पहुँच, सञ्चार तथा डिजिटल पूर्वाधारको विकास, सडक र ढल प्रणालीको स्तरोन्नति, तथा जलनिकासी समस्याको दिगो समाधानजस्ता विषयहरू प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगरप्रमुख आचार्यले उठाइएका सुझाव र मागहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नगरको समृद्धि र दिगो विकासका लागि सबै राजनीतिक दल, नागरिक समाज, युवाहरू तथा समुदायबीच सहकार्य अपरिहार्य छ। नगर सरकार जनचासोका विषयमा सधैं संवेदनशील छ।”
यस पहलले नगरको दीर्घकालीन योजनामा जनपक्षीय विषयहरू समावेश हुने आशा गरिएको छ।