२१, जेष्ठ २०८२ बुधबार
काठमाडौं, – राजावादी शक्तिहरूको संयुक्त जनआन्दोलन समितिले बोलाएको बैठक अध्यक्ष अनुपस्थित भएपछि हंगामामय ढंगले स्थगित गरिएको छ। गणतन्त्रविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बोलाइएको बैठक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अनुपस्थितिका कारण अवरोधमा परेको हो।
बैठक सुरु भएलगत्तै लिङ्देन संसदमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको जानकारी गराइएको थियो। तर कार्यकर्ताहरू यसप्रति असन्तुष्ट देखिए। “यदि संसदमै रहनुपर्ने हो भने सडक आन्दोलन किन?” भन्ने प्रश्न उठाउँदै केही कार्यकर्ताहरू आक्रोशित भए।
बैठकमा लिङ्देनको अनुपस्थिति प्रति रोष प्रकट गरिरहेका कार्यकर्ताहरूले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि झन् हल्ला मच्चिएको थियो। परिस्थितिलाई नियन्त्रण गर्न समितिका अध्यक्ष नवराज सुवेदीले आफैं माइक समातेर सानो कार्यदल बनाएर आन्दोलनको नयाँ कार्यक्रम तय गरिने भन्दै बैठक स्थगित भएको घोषणा गरे।
कतिपय कार्यकर्ताहरूले ‘राजा र जनताको एकता नहुँदासम्म आन्दोलन निरन्तर चल्ने’ बताएका छन्। उनीहरूले “राजाले नै जनताको साथ चाहिएको भनेपछि हामी सडकमा आएका हौं” भन्दै आफ्नो अडान दोहोर्याएका थिए।
कार्यक्रममा राप्रपा महामन्त्री राजेन्द्र गुरुङले “जुन उद्देश्य लिएर हामी अघि बढेका छौं, त्यसमा केन्द्रित हुन जरुरी छ” भन्दै सबै पक्षलाई एकमतमा अघि बढ्न आग्रह गरे। उनले आन्दोलनलाई गन्तव्यसम्म पुर्याएर मात्र रोकिने दृढता व्यक्त गरे।
यस्तै, विनोद कंडेलले आन्दोलनमा सहभागिता जनाउने सबैलाई धन्यवाद दिंदै एकता र निरन्तरताको पक्षमा जोड दिएका थिए।
राजावादी शक्तिहरूबीचको आन्तरिक असहमति र नेताहरूको अनुपस्थितिले आन्दोलनको रणनीतिमा अन्योल देखिए पनि कार्यकर्ताहरूको जोश भने कायमै देखिएको छ। अबको आन्दोलन कति प्रभावकारी बन्छ भन्ने निर्धारण यही एकताको पुनर्संयोजनमा निर्भर देखिन्छ।