२१, जेष्ठ २०८२ बुधबार
बाँके, नेपालगञ्ज
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री रमेश लेखक ‘भिजिट भिसा काण्ड’को षड्यन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिकार भएको आरोप लगाएका छन्। नेपालगञ्जमा आजपाले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले बालुवाटारमै यो काण्ड बुनेको दाबी गरे।
‘बालुवाटारबाट काँखीमा राखेर छुरा हान्ने खेल भैरहेको छ’
साहले प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई फसाउन नियोजित ढंगले यो काण्ड अगाडि बढाएको आरोप लगाए। उनले भने, “प्रधानमन्त्रीको सेटिङले गृहमन्त्रीलाई फसाउने काम गरिरहेको छ। कांग्रेस–एमाले गठबन्धन देखिए पनि भित्रभित्रै काटमार र एकअर्कालाई सिध्याउने खेल चलिरहेको छ।”
रवि लामिछानेको उदाहरण पनि तान्दै उनले थपे, “पहिलोपटक रविलाई दोषी होइन भनिएको थियो, तर पछि केपी ओलीकै निर्देशनमा जेल हालियो। अहिले पनि भिजिट भिसाको नाममा केही ठूलै तयारी भइरहेको छ, हेर्दै जानुहोस्।”
‘गठबन्धन अपवित्र, जनतामा निराशा’
आजपा अध्यक्षले एमाले–कांग्रेस गठबन्धनलाई ‘अप्राकृतिक र अपवित्र’ गठजोड भन्दै जनताले पीडा भोग्नुपरेको बताए। “बाहिर मिलेको देखिए पनि भित्र गम्भीर अविश्वास र षड्यन्त्र छ,” उनले भने, “अबको आवश्यकता भनेको प्रधानमन्त्रीको राजीनामा र अन्तरिम सरकार हो। यो नै मुलुकको निकास हो।”
‘अख्तियार, अध्यागमन र मिडिया प्रयोग’
साहले प्रधानमन्त्रीले अख्तियार, अध्यागमन र मिडियालाई हतियारको रूपमा प्रयोग गरेको आरोप लगाए। “सूचना चुहाएर मिडियाबाजी गर्ने, अध्यागमनमा छापा मार्ने, यी सबै बालुवाटारकै इशारामा भइरहेको छ,” उनले आरोप लगाए।
‘तराई–मधेस विभेदमा, नेपालगञ्ज उपेक्षित’
वर्तमान सरकारले तराई–मधेसप्रति विभेदपूर्ण व्यवहार गरेको उल्लेख गर्दै उनले नेपालगञ्जलगायत पश्चिमी तराईको विकासलाई उपेक्षा गरिएको बताए। “इतिहासमै योगदान गरेका क्षेत्रलाई बजेटमा पछाडि पारेर विभेद गरिएको छ,” उनले भने।
‘लुटतन्त्र र भ्रष्टाचारविरुद्ध एकजुट होऔं’
देशमा बढ्दो बेथिति, भ्रष्टाचार र कर आतंकले जनतालाई दुःखी बनाएको उल्लेख गर्दै साहले सबैलाई आवाज उठाउन आह्वान गरे। “दलाल दलतन्त्रले मुलुकलाई धरासायी बनाउँदैछ। अब समय आयो, लुटतन्त्रविरुद्ध आवाज उठाउने,” उनले भने।
कार्यक्रम आजपा नेता भगतजीको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा त्रिभुवन साह, डा. उस्मान, शम्भु जयसवाल लगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।